भारतका केही राज्यमा आजदेखि स्कुल खुले

अस्मिता बेल्बासे

एजेन्सी, ५ असोज : भारतका केही राज्यमा (आज) सोमबारदेखि स्कुल खुलेका छन् । मध्यप्रदेश, जम्मु काश्मीर, राजस्थान तथा हरियाणामा सोमबारदेखि स्कुल खुलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यी राज्यमा कोरोना भाइरसलाई लिएर जारी गरेको निर्देशिकाको आधारमा स्कूल खोल्ने निर्णय गरिएको हो । कतिपय राज्यले भने अझै स्कुल खोल्नका लागि तयार नभएको बताएका छन् ।

उनीहरुले कोरोनाका जोखिमकाबीच बालबालिकालाई स्कुल पठाउन नहुने बताएका हुन् । बिहार राज्यमा स्कुल खोल्ने/नखोल्नेबारे मंगलबार मात्रै निर्णय हुने भएको छ ।

सोमबारदेखि मध्येप्रदेशका धेरैजसो सरकारी तथा निजी स्कुल सञ्चालनमा आउने छन् । स्कुल सञ्चालनका लागि केही नियम भने लागू गरिएको छ ।

विद्यार्थी, शिक्षक तथा कर्मचारीले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, स्कुलमा स्यानिटाइजर उपलब्ध हुनुपर्ने, एक पटक विद्यार्थी स्कुल भित्र छिरेपछि छुट्टि भएपछि मात्रै बाहिर जान पाउने जस्ता नियम लागू हुने भएको छ ।

भारतमा कोरोनाका कारण ५४ लाख ८५ हजारभन्दा धेरै संक्रमित भएका छन् । तीमध्ये ४३ लाख ९२ हजार ६ सय निको भएका छन् । कोरोनाबाट संक्रमित देशको दोस्रो सूचीमा रहेको भारतमा अहिलेसम्म ८७ हजार ९ सय ९ जनाको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ ।

प्रतिक्रिया