भारतका विदेशमन्त्री जयशङ्कर र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता, संयुक्त राष्ट्रसङ्घको महासभामा आज सम्बोधन

admin

काठमाडौं, ११ असोज : संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अहिले न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा. एस जयशङ्करबीच सोमबार भेटवार्ता भएको छ ।

यस अवसरमा उनीहरुबीच नेपाल-भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै दुई पक्षीय एवं बहुपक्षीय मामिलाबारे विचार आदानप्रदान भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कमा रुहेको स्थायी नेपाली नियोगले जनाएको छ ।

दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड-१९ ले नेपाल र भारतका जनताको जीवन र आजीविकामा निम्त्याएको चुनौतीको मिलेर सामना गर्न सहमति जनाएको नियोगले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । मन्त्री डा. खड्काले नेपालको सामाजिक, आर्थिक विकासका निम्ति भारत सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गरेको विज्ञप्तिमा जनाइएको छ ।

सोमबार नै मन्त्री डा. खड्काले नेपालको महावाणिज्य दूतावासको निरीक्षण गरी प्रभावकारी ढङ्गले कन्सुलर सेवा प्रवाह गर्न तथा आर्थिक, कुटनीतिलाई विशेषरुपमा अघि बढाउन निर्देशन दिए । मन्त्री खड्का गैरआवासीय नेपाली सङ्गठनले आयोजना गरेको अर्को कार्यक्रममा सहभागी भएर मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति लगानी, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा लगानी जुटाउन आह्वान गरेको पनि यो नियोगले जनाएको छ ।

महासभालाई स्थानीय समयअनुसार सोमबार अपराह्न सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्री डा. खड्का नेतृत्वको प्रतिनिधिमण्डल (भोलि) मंगलबार स्वदेश फर्कने छ ।

प्रतिक्रिया