भारतका १६ जना प्रहरीलाई आजीवन जेल सजायको फैसला

admin

नयाँ दिल्ली, १४ कात्तिक: भारतको एउटा अदालतले १६ जना प्रहरी अधिकारीलाई बुधबार आजीवन जेल सजायको फैसला सुनाएको छ । देशको उत्तरी क्षेत्रमा दशकौँ अघि भएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई आजीवन जेल सजायको फैसला सुनाइएको अदालतका अधिकारीहरूले बताएका छन् । सन् १९८७ मा भएको सो घटनामा ४२ जना निर्दोष मुस्लीम धर्मावलम्बी मारिएको अदालतको भनाई छ । हिन्दू र मुस्लीम समुदायबीच भएको झडपमा परी उनीहरू मारिएका थिए ।

पर्याप्त प्रमाणहरूको अभावमा उत्तर प्रदेशको एउटा स्थानीय अदालतले सन् २०१५ मा प्रहरीहरूलाई दोषी देखाउन सकेको थिएन । तर दिल्ली उच्च अदालतका दुई जना न्यायाधीशको इजलासले भने ती प्रहरीहरूलाई दोषी ठहर गर्दै यसअघिको फैसलालाई उल्ट्याएका हुन् । निःशस्त्र र निराश्रयसहितका निर्दोष नागरिकहरूलाई अनाहकमा हत्या गरेको अदालतको ठम्याई छ ।

घटनामा ती प्रहरीले विभिन्न कानूनको उलङ्घन गर्दै अपहरण, हत्या जस्ता आपराधीक क्रियाकलाप गरेको प्रमाणहरू भेटिएको अदालतले जनाएको छ । अदालतद्वारा दोषी ठहर गरिएका सबै प्रहरीलाई यही नोभेम्बर २२ भन्दा अगाडि आत्मसमर्पण गर्न पनि आदेश दिइएको छ । उत्तर प्रदेशमा ठूलो सङ्ख्यामा रहेका हिन्दू धर्मावलम्बी र अल्पमतमा रहेका मुस्लीम धर्मावलम्बीका बीच विगतमा ठूला हिंसात्मक घटनाहरू हुने गरेका थिए ।त्यस्ता घटनामध्ये हसिमपुरा नरसंहार पनि एक थियो । पटकपटक भएको सो घटनामा परी सयौँको मृत्यु भएको छ भने त्यही घटनामा यी प्रहरीहरूलाई दोषी ठहर गरिएको हो ।
-रासस÷एएफपी

प्रतिक्रिया