कोरोना भाइरसका कारण भारतद्वारा सबै पर्यटक भिसा बन्द

admin

काठमाडौं, २९ फागुन : विश्वव्यापी रुपमा बढ्दो प्राणघातक कोरोना भाइरसको प्रकोपका कारण भारतले पनि पर्यटक भिसा बन्द गरेको छ ।

भारतले सबै खालका पर्यटक भिसा आगामी अप्रिल १५ सम्मका लागि बन्द गरेको अधिकारीहरुले जानकारी दिएका छन् । साथै भारतले कोरोना भाइरसको प्रकोप रहेका विश्वका विभिन्न सात ओटा देशबाट आएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने बताएको छ ।

भारत सरकारले बिहीबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी गराइएको समाचारमा जनाइएको छ । बिहीबार मध्यरातिदेखि नै भारतले यस्ता भिसाहरु बन्द गर्ने जनाएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअन्तर्गत कूटनीतिक प्रयोजनका लागि आवश्यक, अन्तर्राष्ट्रिय संस्थाहरुका भिसा, रोजगारीसम्बन्धी र आयोजनाका भिसाहरु भने यथावत नै रहने बताइएको छ । भारत सरकारले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा चीन, इटाली, इरान, गणतन्त्र कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट आउने पर्यटकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिने पनि जनाएको छ ।

ती देशबाट भारत प्रवेश गर्ने नागरिकलाई कम्तीमा पनि १४ दिन क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको भारत सरकारको प्रेस इन्फरमेसन ब्युरोले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
भारतमा कोरोना भाइरसका केही संक्रमित फेला परेका छन् । तर यसबाट कसैको मृत्यु भने भएको छैन ।

विश्वका ११० भन्दा बढी देशमा यसको संक्रमण देखिएको छ । अहिलेसम्म यसबाट मृत्यु हुने नागरिकको सङ्ख्या ४ हजार ५०० पुगेको बताइएको छ ।  यसमध्ये ५० हजार भन्दा बढी उपचारपछि घर फर्किएका छन् ।

यस भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तको उहानमा भने अब नियन्त्रणतर्फ आएको समाचारमा जनाइएको छ । चीनबाट निस्किएको यो प्रकोपबाट अहिले भने युरोप र एसियाका केही देश बढी प्रभावित भएका छन् ।

इटाली यसबाट चीनपछि सबैभन्दा बढी प्रभावित भएको छ भने इरान, दक्षिण कोरिया आदि देशमा पनि यो पुगेको छ ।

प्रतिक्रिया