भारतबाट दिन प्रतिदिन सयौँको सङ्ख्यामा नेपाली भित्रदै, क्वारेन्टिनमा राख्नै सकस

राष्ट्रिय समाचार समिति

खलङ्गा, २० जेठ :  भारतबाट दिन प्रतिदिन सयौँको सङ्ख्यामा नेपाली नागरिक जुम्लामा भित्रिन थालेपछि उनीहरूलाई क्वारेन्टिनमा राख्न यहाँका स्थानीय तहलाई सकस भएको छ । जिल्लामा भएका एकीकृत क्वारेन्टिन कर्णाली प्राविधिक शिक्षालय, लामास्थित दुर्गा मावि, कुडारीस्थित सरस्वती मावि र रारालिहीस्थित कुडारी मावि भरिभराउ भएका छन् ।

ती क्वारेन्टिनमा अहिले ६३० जनालाई राखिएको छ । थप क्वारेन्टिन बनाउन स्थानीय तहहरू लागिपरेको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।यसअघि निर्माण व्यवसायी सङ्घको भवनमा बनाउने भनिएको क्वारेन्टिन स्थानीयवासीले अदातलमा मुद्दा हालेका कारण अघि बढ्न सकेको छैन । अदालतले हाललाई क्वारेन्टिन नबनाउन अन्तरिम आदेश दिएको निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो ।

“क्वारेन्टिन बनाउने जिम्मेवारी पालिकाको हो । हामीले सुरक्षा दिने हो । हामीले दिएकै छौँ”, उहाँले भन्नुभयो, “क्वारेन्टिन बनाउन ठाउँठाउँ जाँदा स्थानीयवासीले अवरोध गरेका कारण सकिएको छैन, प्रशासनले मात्रै केही गर्न सक्दैन ।” स्थानीयवासीले बस्तीछेऊ क्वारेन्टिन बनाउन अवरोध गर्ने गरेका छन् ।

प्रतिक्रिया