भारतले तयार पारेको कोरोनाविरुद्धको औषधि सार्वजनिक

admin

काठमाडौं ३ जेठ : भारतले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गरेको छ । उक्त औषधि पाउडरको रूपमा तयार पारिएको छ । यो औषधि भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा बनाइएको हो । यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले २-डिजी नामको औषधि सार्वजनिक गरेका हुन् । रक्षामन्त्री सिंहले यो औषधि कोरोना संक्रमित विरामीका लागि प्रभावकारी सिद्ध हुने विश्वास व्यक्त गर्दै यो भारतको विज्ञताको उदाहरण भएको बताएका छन् ।

यसलाई भारतमा कोभिड १९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो ‍औषधि भनिएको छ । यो ‍औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ । सामान्य प्रयोगको लागि अनुमति नपाएसम्म यो औषधि बजारमा तत्काल उपलब्ध हुने छैन । डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको परीक्षण गरिएको थियो ।

यो औषधिले कोभिड १९ का बिरामीहरूलाई अक्सिजनको समस्याबाट जोगाउन मद्दत गर्ने भारतीय अधिकारीहरूको दाबी छ । भारतमा कोरोनाको दोस्रो लहरमा सबैभन्दा धेरै समस्या अक्सिजनको देखिएको छ । राजधानी दिल्ली सहित देशका कैयौं राज्यहरूमा समस्यामा परेका बिरामी र उनका परिवारलाई भएको अक्सिजनको समस्यालाई यो औषधिले सहयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया