भारतीय सेनामा जागिर खाएका हौं, मुटु त मातृभूमिकै लागि धड्किन्छ !

admin

काठमाडौं, १४ जेठ : यतिखेर नेपाल र भारतबीच सीमा विवाद चुलिएको छ । नेपालले सीमाको विषयमा लिएको अडानलाई विश्व जगतले नियालीरहेको छ । सर्वप्रथम, भारतले एक बर्षअघि नेपालको कालापानी क्षेत्रलाई आफ्नो भूमिभित्र पारेर नक्सा सार्वजनिक गरेको थियो । नेपालले उक्त भूमि आफ्नो भएको भन्दै कूटनीतिक नोट भारतलाई बुझायो ।

कालापानी आफ्नो नक्सामा गाभेको एक बर्षपछि पुनः भारतले नेपालको भूमि लिपुलेक हुँदै तिब्बतस्थित मानसरोवर जाने बाटो निर्माण र त्यसको भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेसँगै नेपालमा आन्दोलनले उग्ररुप लियो । संसदीय समिति र नागरिक आन्दोलनको दबाबपछि सरकारले अध्यावधिक गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरासहित आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गर्यो । तर नेपालको कदमलाई भारतले ‘कृत्रिम विस्तार’ भन्दै अस्वीकार गर्ने बतायो ।

यो बिचमा भारतीय मिडिया, नेता तथा सरकारका महत्वपूर्ण पदका बसेकाले नेपाललाई चिनियाँ ‘गुलाम‘ मात्र भनेनन्, निकै तल्लोस्तरको गालीगलौज गरे । यो क्रम जारी रहेको छ । जसका कारण नेपालमा रहेका आमनेपालीका मात्र होइन, विश्वरभर छरिएर रहेका नेपाली भाषीको मन छियाछिया भएको छ । यो दुःखाई भारतीय गोर्खा राइफल्समा कार्यरत नेपालीहरुका लागि पनि पीडादायी बनेको छ ।

नेपाल भारतबीच चुलिएको सीमा विवादबारे यतिबेला भारतीय गोर्खा राइफल्समा कार्यरत देशभक्त नेपाली के सोचीरहेको होलान रु सो बारेमा गोर्खा राइफल्समा कार्यरत रमेश कार्कीले सीपोष्ट न्यूज डटकमसँग कुराकानी गर्दै भने, ‘म भारतीय सेनामा कार्यरत छु । यसको मतलब यो होइन कि मलाई नेपालको भन्दा बढी माया भारतको लाग्छ । यस्तो कदापी हुन सक्दैन । मलगायत भारतीय सेनामा कार्यरत हजारौं नेपाली भारतीय गोर्खा फौजको मन यस्तै होला र हुनुपर्छ ।’

कार्कीले थप भने, हामी त नेपाल-भारत सन्धि अनुसार गोर्खा फौजमा भर्ना हुन आएका हौं । जसरी लाखौं युवा उच्च शिक्षा र रोजगारीको सपना बुनेर विदेशीएका छन् । त्यसरी नै हामी पनि भारतीय सेनामा जागिर खान आएका हौं, मुटु त मातृभूमिकै लागि धड्किन्छ ।’

‘यतिखेर भारतीय सत्ताले कालापानीमा सेना परिचालन गरिरहेको छ । देशका नागरिकलाई भाडामा प्रयोग गर्न स्वीकृति दिने नतिजा देखिँदैछ’, उनले भने,‘नेपालका विरुद्धमा नेपालीलाई नै लडाउने यो घृणित राजनीतिका बारेमा किन बोलिरहेको छैन्, नेपाल सरकार, नेपाली सेना र विभिन्न दलमा रहेका भारतीय भरिया नेताहरु ?’

उनले आक्रोश पोख्दै भने, ‘विश्वका कुनै पनि मुलुकमा सडकछाप र आपराधिक पृष्टभूमि भएका ब्यक्ति सत्तामा रहेका छैनन्, हेक्का रहोस्, नेपाल र भारतबीच युद्ध नै भएता पनि गोर्खा राइफल्सले आफ्नो जन्मभूमिप्रति कदापी गद्धार गर्न सक्दैन ।’

उनले थप प्रष्ट पार्दै भने,‘आफूले पढेको भूगोल विषयमा नेपाल भारतभन्दा २२ गुणा ठूलो छ, चीन ६६ गुणा । भारतको उत्तरी भागमा पाकिस्तान पर्छ । जसलाई भारतले आफ्नो दुश्मन मान्छ । यो दुई देशका बिचमा कहिल्यै सम्वन्ध राम्रो छैन । भारतले सँधै अमैत्री सम्वन्ध रहेको मान्छ । यद्यपि बाहिर देख्दा खासै अलिअलि बिवाद बाहेक देखिन्न । भारतले आफ्नो मुलुकको सीमा रक्षा गर्न माइनस २२ डिग्रीमा हिमाली इलाकामा लाखौं सेना तैनाथ राखेको छ, त्यो पनि चौविसै घण्टा । यो संभव पनि भएको छ । नेपालमा करिब १ लाख सेना रहेको छ । भारतमा २२.५ लाख सेना । भूगोलको हिसाबले पनि नेपालभन्दा भारत २२ गुणा ठूलो छ । यो हिसाबले नेपाली सेनाको संख्या ठिक छ । त्यसकारण पनि नेपाली सेना आफ्नो भूमिको लागि लड्न सक्छ । आफ्नो देशको रक्षा गर्न सक्षम छ । नेपालले पनि आफ्नो सीमा रक्षाका लागि सेनालाई खटाउनुपर्छ ।’

‘अहिले दुई हप्तादेखि हामीले खबर सुनिरहेका छौं कि नेपालको भू-भाग भारतले मिच्यो । यसको प्रत्येक नेपालीले घोर भत्सर्ना गनैपर्छ । तर मलाई एउटा सवाल हमेसा आइरहन्छ-नेपाल सरकारले आफ्नो मुलुकको माटो रक्षाका निम्ति किन सीमामा सेना खटाउन सकिरहेको छैन ? किन चाहेन ? यदि सीमामा नेपाली सेना खटाइन्थ्यो भने सायदै यो विवाद आउने थियो ।’ उनले भने ।

‘कुरा उठ्न सक्छ कि भारतजस्तो शक्तिशाली मुलुकसँग कसरी लड्न सकिन्छ ? यो हुनै सक्दैन । शक्तिशाली मुलुक मान्ने हो भने यतिखेर विश्वको सवैभन्दा शक्तिशाली राष्ट्र अमेरिका छ । के अब अन्य देशका मुलुकले आफ्नो सीमा रक्षा नगरी बसिरहेका छन् होला त ? पक्कै पनि गरिरहेका छन् । त्यसो हो भने नेपाल कै चाहिँ किन सीमा रक्षा भइरहेको छैन ?’ उनले नेपाल सरकारसँग आक्रोश पोखे ।

यतिबेला प्रत्येक देशभक्त नेपालीको मनमा यस्तै अनगिन्ति प्रश्नहरु उब्जिरहेको हुनुपर्छ । कुनै पनि मुलुकको पहिलो प्राथमिकता भनेकै देशको भूगोल रक्षा गर्नु हो । कहिले कहिँ आइपर्ने विपतका लागि सेना परिचालन अनिवायै छैन । तर सेनाले गर्ने काम सर्वसाधारणले सजिलै गर्न मुस्किल छ । कठिनभन्दा कठिन कामका लागि सेना चाहिन्छ । त्यो हो-मुलुक र जनातालाई बाहिरी दुश्मनको हमलाबाट बचाउनु, रक्षा गर्नु । त्यसैले नेपालको तर्फबाट पनि सीमा रक्षाका लागि नेपाली सेना खटिनु अनिवार्य भएको उनको भनाई छ ।

‘नेपाल सरकारले कहिले आफ्नो सीमा रक्षाका लागि सेना परिचालन गर्ला रु कहिले आफ्नो माटोको रक्षा गर्न नेपाली सेना आफैं जागरुक बन्ला ? किन सीमा रक्षाका लागि जनता चिन्तित छन् तर नेपाली सेना छैन ? यस्तै अनगिन्ति प्रश्नहरुको साथमा नेपाल सरकार र नेपाली सेनाले सकारात्मक कदम चालेर मुलुकको अखण्डता, भौगोलिकता, सार्वभौमसत्ता कायम राख्ने प्रतिक्षामा हामी छौं ।’ उनले भने ।

भारतीय विस्तारवाद भन्दै नारा लगाउँदैमा मुलुकको सीमा संरक्षण नहुने उनले बताए । उनले कूटनीतिक पहल र द्धिपक्षीय बार्ताको माध्यामबाट समस्याको सामधान गरिनुपर्ने बताए । साथसाथै नेपाली सेनालाई सीमा, नाकामा तैनाथ गर्नुपर्ने पनि उनको भनाई छ । उनले प्रत्येक नेपालीले भारतविरुद्ध चर्का नारा लगाउनुभन्दा नेपाल सरकारलाई सीमाम रक्षाका लागि सेना परिचालन गर्न प्रत्येक नेपाली आन्दोलनमा निस्किनुपर्ने, घचघच्याउनुपर्ने बताए ।

नेपालको पूर्वराष्ट्रिय तेक्वान्दो खेलाडीसमेत रहेका कार्कीले भने, ‘नत्र यो मुद्दा दुई चार दिन चर्किन्छ । त्यसपछि पुनः शान्त हुन्छ । दुश्मनले नेपाल आमाको छातीमा बुट बजारिरहन्छ । बाध्य भएर हात बाँधेर बस्नुपर्ने हुन्छ । आखिर फेरि उहि ताल हुनेछ-हात्ति आयो, हात्ति आयो फस्स ।’ – Citizenpost बाट

प्रतिक्रिया