भारत-नेपाल पेट्रोलियम पाइप लाइनबाटै डिजल चोरी

admin

एजेन्सी, २ माघ : पटना-मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन फुटाएर डिजल चोरी भएको खुलेको छ । बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको डिपोमा भारतको पटनाबाट सिवान र मोतिहारी हुँदै डिजल आपूर्ति गर्दै आएको पेट्रोलियम पाइप लाइन फुटाएर डिजेल चोरी भएको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएको छ ।

तस्बिर : नवभारत टाइम्स

नेपाली सीमाबाट एक सय किलोमिटर पर नविगन्जमा पाइप लाइन फुटाएर हजारौँ लिटर डिजल चोरी भएको नवभारत टाइम्स खबरमा दाबी गरिएको छ । पाइप लाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खेतमा डिजल बगेको देखेपछि भारतीय आयल निगमका अधिकारीहरूलाई खबर गरेका थिए । मुख्य पाइपमा प्वाल बनाएर सानो पाइपबाट डिजल चोरी गरिएको खबरमा उल्लेख छ ।

सानो पाइपबाट दैनिक सयौँ लिटर डिजल चोरी भएको हुन सक्ने भारतीय आयल कर्पोरेशन (आईओसी)का अधिकारीहरूले आशङ्का गरेका छन् । पाइपबाट हरेक दिन हजारौँ लिटर डिजल चोरी गर्न सक्ने गरी पूर्वाधार तयार भएको पाइएको छ । झण्डै चार फीट तलको फाइप लाइनमा सानो पाइप जोडेर डिजल चोरी गरिएको हो ।

चोरहरूले जोडेको पाइपबाट डिजल लिक नहोस् भन्नका लागि छुट्टै लकिङ सुविधा जडान गरेको पाइएको छ । गएको वर्ष भदौबाट सञ्चालनमा आएको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइप लाइन हो ।

नेपाल आयल निगम भन्छ, पाइपलाइनमा आक्रमण भएको जानकारी छ, चोरी भएको जानकारी छैन !
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने केही दिनअघि पाइपलाइनमा आक्रमण भएको जानकारी भएको तर डिजेल चोरीको जानकारी प्राप्त नभएको बताएका थिए । पाइपलाइनबाट नियमित रुपमा डिजेल आपूर्ति भइरहेको प्रवक्ता उपाध्यायको भनाइ छ ।

पाइपलाइनमा आक्रमणलगत्तै भारतीय आयल कर्पोरेसनको मोतीहारीस्थित प्रणालीमा प्रेसर कम भएको र पाइपलाइनमा क्षतिको जानकारी भारतीय पक्षले तुरुन्तै पाएको निगमको दाबी छ । पाइपलाइन आक्रमणबाट भएको क्षति नेपालले व्यहोर्न नपर्ने पनि निगमले जनाएको छ ।

पाइपलाइनमा क्षति गर्नेलाई भारतीय अधिकारीले पक्राउ गरेर कानुनी कारबाही सुरु गरेको जानकारी पाइए पनि विस्तृत विवरण भने आइनसकेको प्रवक्ता उपाध्यायको भनाइ छ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइन निर्माण गरिएको छ । सो पाइपलाइनबाट हाल डिजेल आउने गर्दछ । नेपाल र भारतका प्रधानमन्त्रीले गत वर्ष भदौ २४ गते संयुक्तरुपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया