भावुक बनाउने तस्बिर शेयर गर्दै छोरीहरु, कस्तो छ सीता दाहालको स्वास्थ्य अवस्था ?

admin

काठमाडौं, २९ चैत : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका दुई छोरीहरू रेणु दाहाल र गंगा दाहालले आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा सार्वजनिक गरेका छन् । बिरामी भएर सुतेकी आमा सीता दाहालसँग छोरी गंगाले आमा र दिदी रेणु दाहालसहित ३ जनाको ‘सेल्फी’ फोटो लिएकी छिन् । फोटोमा सीता दाहाल पहिले भन्दा दुब्लाएको देखिन्छ । सो फोटो सार्वजनिक भएपछि धेरैले उनको अवस्थाबारे जिज्ञासा राख्दै स्वास्थ्यलाभको कामना गरेका छन् ।

यस्तो छ सीता दाहालको स्वास्थ्य अवस्था :-
सीता हाल चितवनमा रहेकी छिन् । चितवनमा दिदी रेणु दाहालको घरमा पुगेका बेला सो तस्वीर लिइएको गंगा दाहालले जानकारी दिइन् । त्यस्तो कुनै सन्दर्भ नभई दिदीसँग भेटेका बेला सो तस्वीर लिइएको उनले बताएकी छिन् । आमाको स्वास्थ्य अवस्था सामान्य नै रहेको छोरी गंगा दाहालले बताइन् ।

उनले भनिन्- ‘आमाको स्वास्थ्य अवस्था सामान्य नै छ । फोटो हेरेपछि धेरै मान्छेहरु आत्तिएका छन्, त्यस्तो बिग्रिएको छैन । तौल केही घटेको छ ।’ उनको उपचार नियमित रुपमा चलिरहेको छ । नियमित रुपमा थेरापी र औषधी चलाइराखेको उनले बताइन् । दाहालमा विगत ४ वर्षदेखि पार्किन्सन भन्ने स्वास्थ्य समस्या रहेको छ । उनी दुर्लभ स्वास्थ्य समस्याका रुपमा रहेको प्रोग्रेसिभ सुपर न्युक्लियर पाल्सी (पी.एस.पी) बाट पीडित रहेकी छिन् ।

चिकित्सकहरूका अनुसार यो समस्या मस्तिष्कमा असर परेपछि हुने गर्छ । जसबाट मानसिक असन्तुलनका साथै हिड्न, बोल्न र निल्न समेत गाह्रो हुने गर्छ । यो समस्या ६० वर्ष उमेर माथिकालाई हुने चिकित्सकहरुको भनाई छ । एकमात्र छोरा प्रकाश दाहालको २०७४ साल मंसिरमा हृदयघातबाट निधन भएपछि उनमा स्वास्थ्य समस्या बढ्दै गएको थियो । २०७५ साल चैतमा उनलाई उपचारका लागि अमेरिका लगिएको थियो ।

प्रतिक्रिया