भीडभाड रोक्न उपत्यकामा आजदेखि अनुगमन, फेरि निषेधाज्ञा लम्ब्याउने तयारी

admin

काठमाडौं, १९ साउन : कोरोना संक्रमण बढिरहे पनि भीडभाड नरोकिए पछि काठमाडौं उपत्यकामा अनुगमन हुने भएको छ । अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति गठन भएको छ। समितिले (आज) मंगलबारदेखि उपत्यकामा अनुगमन थाल्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार बढी भीडभाड हुने क्षेत्र र सार्वजनिक गाडीलाई प्राथमिकतामा राखेर अनुगमन हुनेछ । अनुगमनका क्रममा मास्क नलगाइएको पाइए कारबाही हुने पनि उनले बताए । यस्तै, कोरोना रोकथामका लागि भन्दै काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञालाई लम्ब्याउने तयारी भएको छ ।

यस विषयमा मंगलबार बस्ने कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीको बैठकमा छलफल हुनेछ । त्यसपछि (भोलि) बुधबार बस्ने उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा बारे निर्णय गर्नेछ । काठमाडौं उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा बुधबार सकिँदै छ ।

प्रतिक्रिया