भुतपूर्व शिक्षक समाजले निकालेको ‘शैक्षिक–स्मारिका’ विमोचन

admin

काठमाडौँ, मङ्सिर २३ : भुतपूर्व शिक्षक समाजले ‘शैक्षिक–स्मारिका’ विमोचन गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम गर्दै संस्थाको पहिलो अभियानको रुपमा उक्त शैक्षिक स्मारिका विमोचन गरिएको हो ।

यसवर्ष असोज ७ गते गठन भएको भुतपूर्व शिक्षक समाजले आफ्नो जीवनको महत्वपूर्ण समय शिक्षण पेशामा समर्पित गरेका शिक्षकहरुले जीवनभर शिक्षा क्षेत्रमा आफ्नो जिवनलाई समर्पित गर्ने सोचमा मुनाफारहित संस्थाको रुपमा यस संस्थाको स्थापना गरिएको बताएको छ ।

साथै, संस्थाले आगामी दिनमा ७७ वटै जिल्लामा पुगेर सबै राजनीतिक दलमा आवद्ध रहेका भुतपूर्व शिक्षकहरुलाई समेट्ने पनि घोषणा गरेको छ । यस्तै, देशमा भइरहेको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्ने भन्दै संस्थाले यो कुरालाई अगाडी बढाउन मूल उद्देश्य बनाएको पनि जानकारी दिएको छ ।

नेपालमा कुनैपनि जागिर नपाए शिक्षण पेशामा आउने प्रणाली रहेकोमा दुःख व्यक्त गर्दै यस्तो मानसिकतालाई अटाउन पनि संस्थाको मूल उद्देश्य रहेको बताईएको थियो ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा विमोचन कार्यक्रमका प्रमुख अतिथि प्रेमप्रसाद भट्टराईले स्मारिका विमोचन गर्दै स्मारिकाको समिक्षा गरेका थिए । उनले उक्त स्मारिकामा ३९ वटा लेख तथा रचना रहेको जानकारी दिँदै शिक्षकहरुले राखेका अनुभवहरु नयाँ पुस्ताको लागि महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा बोल्दै उनले नयाँ पुस्ताको आवश्यकतालाई कम्प्रोमाइज नगरेर पुरानो पुस्ताले पुर्ति गरिदिनुपर्नेमा जोड दिएका थिए । स्मारिकामा समाजमा रहेका बिविध कुरालाई समेटिएको भन्दै पठनीय रहेको बताए ।

यस्तै, उनले हरेक व्यक्तिको सिक्ने चाहनालाई उसको स्पिरिटमा सिकाउनको लागि हरेक कक्षालाई रुपान्तरण गर्नुपर्ने बताएका थिए ।साथै, उनले भुतपूर्व शिक्षक समाज चिया खाने चौतारीमात्र नभएर प्राज्ञिक चौतारी बन्दै देशको शिक्षा क्षेत्रमा कोसेढुंगा बन्न सकोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले नेपाली शिक्षकहरु उज्यालोको प्रकाश बोकेर देशका कुना–कन्दरासम्म पुगेका भन्दै शिक्षकहरुलाई सरकारले सम्मान गर्नुपर्नेमा जोड दिएकी थिइन् । साथै, उनले रिटायर्ड भएपछि मान्छे टायर्ड हुन्छ भन्ने कुरा गलत भएको भन्दै नयाँ जोश र जाँगरले भुतपूर्व शिक्षकहरुले देशको शिक्षा क्षेत्रमा सुधारमा लाग्नुपर्ने बताइन् ।

‘यो संस्था जुन उद्देश्यका साथ यस संस्थाको स्थापना गर्नुभएको छ, त्यो काम निकै प्रशंसायोग्य रहेको छ’, उनले भनिन् । आम नेपाली शिक्षकहरुको हकहितको लागि भुतपूर्वक शिक्षकहरुले राम्रो काम गरेको बताउँदै उनले भनिन्, ‘२०४७ साल अघिको शिक्षकहरुको अवस्था निकै दुःखदायी रहेको थियो उहाँहरुकै कारणले गर्दा अहिले हामी यो अवस्थामा आएका हौं’, ।

उनले कुनैपनि कुरा सिक्नको लागि उमेरले छेक्न नसक्ने भन्दै यो युग विज्ञान र प्रविधिको युग भएकाले शिक्षकहरुले प्रविधिमा पनि ध्यान दिनपर्ने बताइन । यस्तै, उनले नेपालको शिक्षा क्षेत्रमा रहेका बिभिन्न समस्याहरु रहेको भन्दै त्यसको लागि नेपाल शिक्षक महासंघ लडिरहेको जानकारि दिइन् ।

‘शैक्षिक समस्याहरु रहेका छन् मन्त्रालयले वार्ता टोली बनाएको छ, त्यसमा हामी बस्छौ । माग पुरा नभए फेरी सडकमा जान्छौं । शिक्षक अस्पतालको माग उठाएका छौं । जग्गा खोज्नको लागि मन्त्रालयले कमिटी गठन गरेको छ । नेपाल शिक्षक महासंघ सधै शिक्षकहरुको हितमा लाग्नेछ’, उनले भनिन् ।

राष्ट्रिय नेपाल केन्द्रीय जडिबुटी सरकारी लिमिटेडका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेले जीवनमा सिकेका अनुभव र शिक्षालाई समाजमा बाँड्नुपर्ने भएकाले भुतपूर्व शिक्षक समाज प्रशंसायोग्य अभियानमा लागेकोमा बधाई दिएका थिए ।

साथै, उनले नेपाल जलवायु परिवर्तनको ठुलो मारमा परेको भन्दै शिक्षा क्षेत्र पनि वातावरणको क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए । भुतपूर्व शिक्षक समाजकी संस्थापक सदस्य शान्ता दाहालले शिक्षा क्षेत्रमा ३०औं वर्ष काटेर अवकाश पाएकाहरु फेरीपनि देशको शिक्षा क्षेत्रमा योगदान दिने नयाँ जोश र जागँरका साथ यो समूह बनाएर आएको बताइन् ।

उनले शिक्षकको काम शिक्षा दिने मात्र काम नभएर बालबालिकाका भित्रका प्रतिभा निकाल्ने पनि रहेको भन्दे संस्थाले यस्तो अभियान थाल्ने जानकारि दिइन् ।
‘कलेजपछि किताब पढ्ने नै होइन् भन्ने बानीको विकास भएको छ, यसलाई हटाउन पनि हामीले अभियान बनाउने छौं’–उनले भनिन् ।

संस्थापक सदस्य दिनानाथ न्यौपानेले उक्त संस्थाको गठनलाई ऐतिहासिक भन्दै राज्यले यो संगठनलाई शैक्षिक सम्पत्तिको रुपमा हेर्नुपर्नेमा जोड दिए ।
उनले भुतपूर्व शिक्षकहरुका पनि दुई खेमा रहेको बताउदै अबका दिनमा सबै एक भएर जान आग्रह गरे । ‘छरिएर रहेका शिक्षकहरुलाई एकाकार गरेर हामीले निस्वार्थ रुपमा राज्यलाई सहयोग गर्न चाहन्छौं’ उनले भने ।

साथै, उनले राज्यका हरेक शैक्षिक निर्माणहरुमा भुतपूर्व शिक्षकहरुलाई पनि सहभागि गराउन माग गरेका थिए । यस्तै, कार्यक्रममा सहभागीहरुले समाजले शिक्षकहरुको कुरालाई सुन्ने भएकाले समाज परिवर्तनको दायित्व शिक्षकहरुले लिनुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले संस्थाको मुल उद्देश्य भनेको देशको शिक्षा पद्दतिलाई कसरी स्तरिय बनाउने भन्ने रहेको बताएका थिए । विमोचन कार्यक्रमको सभापतित्व भुतपुर्व शिक्षकसंघका संस्थापक अध्यक्ष भोलोनाथ सापकोटाले गरेका थिए ।

 

प्रतिक्रिया