भृकुटीमण्डप पसल भाडा प्रकरण: परिषद्लाई डेढ करोड घाटा

admin

काठमाडौं, भदौ ११: दर्शनी मार्गस्थित भृकुटीमण्डपभित्र रहेको फनपार्कसँगै जोडिएको खाली जग्गामा राखिएका पसलहरू छानबिनमा तानिने डरका कारण हटाउन लगाएको पाइएको छ । ती पसलहरू बिनाप्रतिस्पर्धा राख्न दिइएकाले अनुसन्धानको घेरामा पर्ने डरले हटाउन लागिएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

फनपार्क र ल्यामःपुचःलाई भाडामा दिइएको भन्दा बाहेकको करिब तीन रोपनी क्षेत्रमा फैलिएको जग्गामा बिनाप्रतिस्पर्धा टहरो बनाई पसल राख्न लगाइएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघमा भृकुटीमण्डप हाताभित्रको ६० रोपनी जग्गा फनपार्कलाई भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गई अनियमितता गरेको भन्दै पूर्वसमाज कल्याणमन्त्री बद्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।

विशेष अदालतमा मुद्दा दायर भएसँगै बिनाप्रतिस्पर्धा भाडामा दिइएको उक्त पसल बन्द गराइएको थियो। केही महिनादेखि ती पसलहरू केही हटाइए भने केहीमा जस्ताले बारेर राखिएको छ । ती पसल कसले बन्द गराएको हो भन्ने विषय अहिलेसम्म खुलेको छैन। ती पसल अनुसन्धानको घेरामा पर्ने डरले हटाउन लगाइएको समाज कल्याण परिषद् स्रोतले जनाएको छ। ती पसलहरू भृकुटीमण्डपको मुख्य प्रदर्शनी हलपट्टिको ढोकातिर निस्कने बाटोभरि थिए।

ती पसलहरू वर्षाैंदेखि त्यहाँ सञ्चालित थिए। ती पसलबाट परिषद्लाई भाडासमेत नतिरेको परिषद् स्रोतले बताएको छ। ती पसलहरूको भाडा परिषद्को भृकुटीमण्डप सञ्चालन कार्यालयले उठाउनुपथ्र्याे तर त्यसो हुन सकेन। ती पसल ५ वर्षदेखि सञ्चालनमा रहेको परिषद् स्रोतले जनाएको छ। परिषद्ले एउटा पसलबाट मात्रै औसतमा महिनाको १४ हजार भाडा उठाउँदा १६ पसलको महिनामा २ लाख २४ हजार रुपियाँ आम्दानी गथ्र्याे। एक वर्षमा ती पसलबाट २६ लाख ८८ हजार आम्दानी हुन्थ्यो।

यस्तै पाँच वर्षमा ती पसलबाट परिषद्ले १ करोड ३४ लाख ४० रुपियाँ आम्दानी गर्न सक्थ्यो। अर्थात् पाँच वर्षसम्म ती पसलबाट आम्दानी गर्न नसक्दा परिषद्लाई १ करोड ३४ लाख ४० हजार घाटा पुगेको छ। उक्त रकम उठ्न सके परिषद्को केही गुजरा चल्थ्यो। परिस्थिति त्यस्तो रहेन। यत्रो आम्दानी गर्ने पसलको बारेमा परिषद्का उच्च अधिकारीहरू अहिलेसम्म पनि मौनता साँधिरहेका छन्। परिषद्का कुनै उच्च अधिकारी यसबारे बोल्न चाहँदैनन्।

ती पसलसँग परिषद्का केही पदाधिकारी र कर्मचारीको मिलेमतो रहेको परिषद्कै स्रोतको दाबी छ। यो पाटो पनि अहिलेसम्म खुल्न सकेको छैन। यस विषयमा भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रमुख तथा उपनिर्देशक सञ्जयकुमार मल्लिकले सम्झौताविपरीत पसल बनाइएकाले हटाइएको हुनसक्ने बताउनुभयो।ती पसल परिषद्ले गरेको सम्झौताअनुसार फनपार्क र ल्यामःपुचःको क्षेत्रभित्र पर्दैनन्। स्रोतका अनुसार ती पसललाई परिषद्कै केही कर्मचारीले गरिखाने भाँडो बनाएकाले छानविनमा पर्ने डरले तिनीहरूबाटै पसल बन्द गराउन लगाइएको हो।

कार्यालय प्रमुख मल्लिकले भने अनुगमनका क्रममा सम्झौताविपरीत पसल राखेको भन्दै हटाउन लगाएको बताउनुभयो। ‘हामीले बेलाबेला अनुगमन गर्छौं। त्यसक्रममा सम्झौताविपरीतका पसल भनेर हटाउन पटकपटक निर्देशनसमेत दिएका थियौँ’ –उहाँले भन्नुभयो। त्यो निर्देशन फनपार्कलाई कि ल्यामः पुचःलाई भन्ने विषयमा भने उहाँले केही प्रतिक्रिया दिनुभएन । बन्द गराइएका पसलहरूमा खाजा पसलदेखि कफी सप, आइसक्रिम पसल, घोडाचढीलगायत बाल मनोरञ्जनका प्रदर्शनीको १५ वटा सटर सञ्चालित थिए ।

प्रतिक्रिया