भेटवार्तामै व्यस्त राष्ट्रसङ्घको ७६औं महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री डा. खड्का

admin

काठमाडौं, १० असोज : संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन अमेरिका गएका परराष्ट्रमन्त्री डा. नारायण खड्का भेटवार्तामा व्यस्त भएका छन् । उनले (हिजो) शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका थिए ।

उनीहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवर्द्धनबारे कुराकानी भएको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । दुवै देशका विदेशमन्त्रीले विगतका सहमतिहरू कार्यान्वयन गर्न सहमति पनि जनाएका नियोगले जनाएको छ ।

शनिबार नै मन्त्री खड्काले ७६औँ महासभाका अध्यक्ष अब्दुल्ला शहिदसँग भेटवार्ता गरेका हुन् । सो भेटमा मन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घमा नेपालका प्राथमिकता, विश्व शान्ति, सुरक्षा, विकास, मानवअधिकार, राष्ट्रसङ्घीय शान्ति स्थापना कार्य तथा अल्पविकसित देशहरूका निम्ति विशेष सहयोगबारे छलफल गरेका थिए ।

मन्त्री खड्काले महासभाका अध्यक्षलाई नेपालबाट पूर्ण समर्थन हुने प्रतिबद्धता पनि व्यक्त गरे पश्चात्  प्रत्युत्तरमा अध्यक्ष शहिदले आफ्नो कार्यकालमा संयुक्त राष्ट्रसङ्घमा आफ्ना प्राथमिकताबारे चर्चा गर्दै आफूलाई अध्यक्षमा नेपालबाट समर्थन भएकामा त्यसको सराहना गरेका थिए । परराष्ट्रमन्त्री खड्काले (भोलि) सोमबार महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया