भोलिदेखि सुपथ मूल्य पसल खोल्दै सरकार, यस्तो छ खाद्य वस्तुको मूल्य

admin

काठमाडौं, १४ असोज : दशैँ,तिहार र छठ पर्वलाई लक्षित गरेर सरकारले भोलि (बिहीबार) देखि सुपथ मूल्य पसल खोल्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र डिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल सुरु हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

अनलाइन अर्डरमार्फत पनि सुपथ मूल्य पसलका सामग्री खरिद गर्न सकिनेछ ।सुपथ मूल्य पसलका सामग्री काठमाण्डौ उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, थापाथली, नख्खु, प्रयाग पोखरी, जावलाखेल र भक्तपुरका साथै देशभरका ४९ ठाउँमा खोलिने मन्त्रालयले जनाएको छ । यस्तै दुग्ध विकास संस्थानले पनि आफ्ना सबै कार्यालय र बिक्री केन्द्रबाट सुपथ मूल्यमा दुग्धजन्य वस्तुको बिक्री गर्नेछ ।

यस्तो छ मूल्य र छुट रकम
नुन प्रतिकिलो १८ रुपैयाँका दरले खरिद गर्न सकिनेछ । तर प्रति परिवार चार किलोका दरले मात्रै खरिद गर्न पाइनेछ । यस्तै चिनी प्रतिकिलो ७० रुपैयाँमा खरिद गर्न सकिनेछ । प्रति परिवार चार किलोका दर तोकिएको छ ।

सरकारले चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिएको छ । यस्तै खसी,बोका, च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ, दालमा प्रतिकिलो पाँच रुपैयाँ, सिमीमा प्रतिकिलो १० रुपैयाँ, फापरमा प्रतिकिलो पाँच रुपैयाँ र सेतो केराउमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको मन्त्रालयले जनाएको छ । सुपथ पसल छठ पर्वकाे भाेलिपल्टसम्म सञ्चालन हुने विज्ञप्तिमा भनिएकाे छ ।

प्रतिक्रिया