भौतिक पूर्वाधार मन्त्री यादवद्वारा आफ्नो बचाउ

admin

काठमाडौं, १० माघ : जनमत पार्टीका नेता सीके राउतलाई ज्या न मार्ने ध म्की दिएपछि विवादमा पर्नु भएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो बचाउ गर्नु भएको छ ।

उहाँले आफूले कसैप्रति हिंसाको प्रयोग गर्नेगरी अभिव्यक्ति नदिएको जिकिर गर्नु भएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै यादवले आफूले कसैलाई उत्तेजित पार्ने अभिव्यक्ति नदिएको प्रष्टीकरण दिनु भएको हो ।

माघ ५ गते रौतहटको गौरमा बलिदानी दिवसका अवसरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति लक्षित गर्दै उहाँले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिनु भएको थियो ।

त्यसपछि नागरिक समूह, विभिन्न राजनीतिक दलले यादवको अभिव्यक्तिको विरोध गर्दै आएका छन् । हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवलाई पदमुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रहसमेत गरिएको छ ।

गौरमा आयोजित सभामा दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले अपब्याख्या गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उहाँले सो वक्तव्यलाई अतिरञ्चित नगरिदिन आग्रह गर्दै व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएको भए दुःख व्यक्त गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया