भ्रष्टाचारको खोजी गरी सार्वजनिक गर्न कांग्रेसद्वारा निर्देशन

राष्ट्रिय समाचार समिति

काठमाडौं, ११ फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रालयमा के कस्ता अनियमितता र भ्रष्टाचारका घटना भइरहेका छन् भन्ने सम्बन्धमा अध्ययन गरी सार्वजनिक गर्न दलका विषयगत मन्त्रालय हेर्ने संयोजकलाई निर्देशन गरेको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीका विषयगत मन्त्रालय हेर्ने संयोजकहरुको आइतबार बसेको बैठकले सो निर्णय गरेको राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए।

बैठकमा पछिल्लो समयमा सार्वजनिक भएको सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अडियो प्रकरण जस्तै अन्य मन्त्रालयमा पनि नीतिगत र व्यक्तिगत अनियमितता तथा भ्रष्टाचारका घटना हुन सक्ने जनाउँदै बैठकमा विषयगत मन्त्रालय हेर्ने संयोजकले चनाखो भएर अध्ययन गर्नुपर्ने विषयमा छलफल भएको उनले बताए ।

बैठकमा विषयगत मन्त्रालय हेर्ने संयोजकहरुलाई मन्त्रालयसँग सम्बन्धित विधेयक र नीतिका बारेमा समेत अध्ययन गरी पार्टीको धारणा बनाउनुपर्ने बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया