मधेश जोगाउन चुरेको दोहन बन्द गर्नुपर्छ : उपप्रधानमन्त्री यादव

शर्मिला गुरुङ

काठमाडौँ, १ साउन : उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेशलाई प्राकृतिक विपद्बाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्ने खाँचो औंल्याउनुभएको छ ।

प्रदेश नं– २ को बाढी प्रभावित जिल्लाको निरीक्षणपछि आज जनकपुरधाम विमानस्थलमा आयोजित छलफल कार्यक्रममा उहाँले चुरे विनाश गर्ने अमानवीय क्रियाकलाप तुरून्त बन्दहुनु जरूरी छ भन्नुभयो । चुरेलाई बचाउन स्थायी रूपमा समाधान खोज्नु आवश्यक छ भन्दै उहाँले चुरेमा बस्ती बसाउने र सडक निर्माण गर्ने कार्य रोक्नु अपरिहार्य भइसकेको बताउनुभयो ।

सरकारको सम्पूर्णशक्ति बाढीपीडितलाई राहत उपलब्ध गराउन जुटेको बताउँदै उपप्रधानमन्त्रीले अब क्षतिको विवरण आइसकेपछि पुनःनिर्माण कार्यमा जुट्ने विश्वास दिलाउनुभयो । उहाँले अहिले नदीहरूको जल सतह मात्रै घटेको र वर्षायाम बाँकी नै रहेकाले प्रदेश नं २ का मुख्य नदी वाग्मती, लालबकैया, खाँडो, कमलालगायत नदीका बाढी नियन्त्रणको उपाय यथाशीघ्र पहिल्याउनु आवश्यक रहेको बताउनुभयो ।

प्राकृतिक विपद्बाट जोगाउन तीनै तहको सरकारबीच समन्वय आवश्यक भएको भन्दै उहाँले यथाशीघ्र उद्धार र राहतका लागि प्राधिकरण गठन गर्ने कानूनी कार्यसम्पादनमा लाग्ने पनि जानकारी दिनुभयो ।

गृहमन्त्री रामबहादुर थापा बादलले बाढीले सबैभन्दा अधिक प्रदेश नं २ प्रभावित भएको, तीन दर्जनजति मानिसको मत्यु र अर्बौको क्षति र पूर्वाधार नष्ट भएको जानकारी दिँदै सङ्कटलाई सामना गरी उद्धारकार्य सम्पन्न गरिए पनि अब पुनःनिर्माणमा जुटेर यसको स्थायी समाधान खोज्नु आवश्यक रहेको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले क्षति भइको संरचनाको पुनःनिर्माणमा बजेटको अभाव हुन नदिने बताउनुभयो । चुरेको विनाशले प्राकृतिक विपद्मा वृद्धि भई मधेश नै मरूभूमि बन्ने खतरा देखिएको बताउँदै उहाँले पूर्वाधारको मर्मतसम्भार, तटबन्ध निर्माणतर्फ ध्यान केन्द्रित गर्नु जरूरी छ भन्नुभयो । भारतीय बाँध उत्पन्न समस्याको समाधानबारे पहल भइरहेको बताउँदै उहाँले नेपालभित्र रहेका नदीको तटबन्ध राम्ररी गर्नु पनि जरूरी छ भन्नुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशभित्र उत्पन्न विपद्को स्थायी समाधानका लागि सङ्घीय सरकारको सहयोगका लागि आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्री माधव नेपाल, प्रदेश नं–२ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रतिनिधिसभा सदस्य अनिलकुमार झाको पनि उपस्थिति रहेको सो कार्यक्रममा प्रदेश नं–२ का मुख्यसचिव दीपक सुवेदी र धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बाढीले पु¥याएको क्षति, उद्धार, राहत र आवश्यकताबारे जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया