मनाइयो महालक्ष्मीपूजा

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ११ कात्तिक: यमपञ्चक अर्थात् तिहारको चांैथो दिन आज पनि ऐश्वर्य, धनधान्य र सम्पन्नताकीदेवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ ।आज बिहान ९ः४३ बजेसम्म औँसी तिथि थियो ।

धेरै मानिसले आइतबार साँझ नै लक्ष्मीपूजा गरेका थिए । केही समुदायले भने आज लक्ष्मीपूजा गरेका छन् । विशेषगरी नेवार समुदायका मानिसले लक्ष्मीपूजा, नेपाल संवत् (नयाँवर्ष) र आत्म (म्ह) पूजा एवं भाईटीका तीन दिन क्रमशः गर्ने परम्परा भएको तर्क गर्दै आज लक्ष्मीपूजा गरेका हुन् ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले वास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर धार्मिक विधिपूर्वक लक्ष्मी पूजा गरिएको हो । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सरसफाइ गरी दीपावलीसमेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ ।

आजको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो एवं अबीरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलिमिली बनाई पूजा गरिने परम्परा छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरेर गरगहना, पैसालाई पनि पूजा गरी फलफूल, सेलरोटी र फूलमाला चढाइएको छ ।लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने गरिन्छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास समेत रहेको छ ।

घरका अलावा व्यापारिक प्रतिष्ठानमा आज विधिपूर्वक लक्ष्मीपूजा गरिएको छ । यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यकालगायत प्रमुख शहर उज्यालोले झिलिमिली बनेको छ । उपत्यकामा दशैँको भन्दा बढी नै चहलपहल छ ।आज साँझ युवतीहरु समूह बनाई घर घरमा भैलो खेल्छन् ।

भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले भलो होस् भनी घर–घरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “भलो होस् भन्ने शब्द अपभ्रंश भई समयक्रममा भैलो हुन आएको हो, सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा बसेको हो”– उहाँले भन्नुभयो ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटीसमेत दिने गरिन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । देउसी भैलो भने भाईटीकाका दिनसम्म खेलिन्छ । यो चलन बलिराजाले चलाएको धार्मिक विश्वास छ ।

प्रतिक्रिया