मन्त्रीहरुलाई माधव नेपालको निर्देशन : ‘रक्सी खाएको र महिलासँग जोडिएका कुरा सुन्न नपरोस्’

admin

काठमाडौं, २४ असोज : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई कडा निर्देशन र सुझाव दिएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालमा पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई बोलाएर अध्यक्ष नेपालले सबै मन्त्रीहरुलाई मन्त्री बनेपछि गर्न हुने र गर्न नहुने कामबारे सल्लाह र निर्देशन दिए ।

नवनियुक्त सबै मन्त्रीहरुलाई राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दूमा राखेर काम गर्न उनको निर्देशन छ । निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट पूर्ण रुपमा मुक्त हुनुपर्ने उनको कडा निर्देशन छ ।

मन्त्रीहरुलाई फाइभ स्टार होटेलमा गएर क्लाइन्टसँग रक्सि खाने बानी त्याँग्नदेखि विभिन्न आचरण सुधार गर्नुपर्ने अध्यक्ष नेपालको निर्देशन र सल्लाह छ ।

‘मलाई आशा छ, बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरु तपाईंहरुले गर्नहुने छैन । स्वच्छ र सादा जीवन, असल आचरण र संस्कार तपाईहरुले अवलम्बन गर्नुहुने,’ उनले भने, ‘यो मन्त्रीहरु रक्सी खाएर मात्तिए, बेलका बेलका फाइभस्टार होटलमा गएर आफ्नो क्लाइन्टहरुसँग बसेर रक्सी खाइरहेका छन् भन्नेकुरा सुन्नु नपरोस्।

सीधा कुरा, रक्सी खाने बानी छ भनेपनि बानी त्याग्नुस्। महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरु सुन्नु नपरोस्। त्यस्ता व्यवहारहरु तपाईंहरुबाट नहोस्। यस कुरामा म जोड दिन चाहन्छु।’

अध्यक्ष नेपालले आगामी दिनमा मन्त्रीहरुबाट विवादमा आउने र बदनामी कमाउने काम नगर्न निर्देशन दिएका छन् । त्यस्तै, गठबन्धनको भावनाअनुसार अन्य राजनीतिक दलसँग समन्वय नगर्न पनि उनको अनुरोध छ ।

पार्टीको निर्देशनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको सुझाव छ । उनले भने, ‘पार्टीको निर्देशन र सल्लाहलाई केन्द्रबिन्दूमा राखेर तपाईहरुले काम सम्पन्न गर्नु हुनेछ।

विज्ञ र अनुभवीहरुसँग नियमित रुपमा राय, परामर्श लिने चलन बसाल्नुपर्छ। तपाईंहरुले पाँच दलीय गठबन्धनको भावना अनुरुप काम गर्नुपर्ने हुन्छ ।’ अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरुबारे सामूहिक रुपमा बसेर साझा राय बनाएर अघि बढ्न पनि सुझाव दिएका छन् ।

 

प्रतिक्रिया