मलेसियाबाट नेपालीको स्वदेश फिर्तीका लागि नयाँ उडान तालिका सार्वजनिक

admin

काठमाडौं, १६ असार : मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि बुधबार जुलाई १ देखि जुलाई १० सम्मको नयाँ उडान तालिका सार्वजनिक भएको छ ।

विभिन्न समस्याका कारणले नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपालीले स्वदेश फिर्तीका लागि दूतावासमा आफ्नो समस्यासहित आफ्नो विवरण टिपाउनुपर्छ ।

स्वदेश फर्कनेको साथमा चेकआउट मेमो या बिदामा फर्कने हो भने बिदाको कागज साथमा अनिवार्य रुपमा हुन पर्नेछ । सरकारले तोकेको मापदण्ड अनुसार नेपाल आइपुग्ने दिनले सात दिनभित्र कोरोना जाँच पनि गर्नुपर्छ ।

विभिन्न एअरलाइन्सले बुधबारदेखि ९ वटा उडान भर्ने भएका छन् । ८ दिनको अवधिमा नेपाली र विदेशी जहाजले ९ उडान भर्ने मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

जुलाई २ मा नेपाल एअरलाइन्स र मलिण्दो एअरले, जुलाई ३ मा मलिण्दो एअरले, जुलाई ४ मा नेपाल एअरलाइन्सले, ६ मा हिमालयले, ७ मा नेपाल एअरलाइन्सले, ८ मा हिमालय एअरलाइन्सले र जुलाई ९ र १० मा पनि नेपाल एअरलाइन्सले नै उडान भर्ने तालिका दूतावासले सार्वजनिक गरेको छ ।

हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले १५ सय ९० मलेसियन रिंगिट अर्थात ४५ हजार एक सय रुपैयाँ भाडादर तोकेको छ भने मलिण्दोले केही सस्तो १५ सय मलेसियन रिंगिट भाडा तोकेको छ ।

प्रतिक्रिया