महरा–शाही प्रकरणमा को दोषी? को निर्दोष ? : बरिष्ठ अधिवक्ताहरु यसो भन्छन्

शर्मिला गुरुङ

काठमाडौं, १६ असोज : नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने बताएका छन् । पौडेलले उक्त घट्नाबारे पहिलो सुचना दिने व्यक्ति र पीडित दुवै एकै व्यक्ति भएको सुनाए । तर, अहिले अनुशन्धानलाई अन्तै मोड्न खोजिएको पनि उनको आशंका छ ।

पौडेलले झुठा बकपत्र मुद्दा लागेको केशमा बाझिनेगरि बयान दिए मुलुकी ऐनको फौजदारी संहिताको दफा ४४ अनुसार पीडितले जाहेरी दिएपछि, बयान परिवर्तन गर्दा उसलाई पनि सजाय हुने नियम रहेको सुनाए । तर, अहिले पीडितले किटानी जाहेरी नदिएकोले ‘होस्टाईल’ नहुने पौडेलको भनाई छ । शाहीले पहिलो भिडियोमा महरा आफूकहाँ आएको र अर्को भिडियामो नआएको र महरा पितासरहको मान्छे भनेर बोलेको कुरा नै अस्वभाविक भएको उनको तर्क छ। महराले स्वयम्ले आफू शाहीको कोठामा पुगेको भनेर स्वीकार गरिसकेकोले अब शाहीले महरा पितासरहको मान्छे भन्नुको अर्थ नभएको पनि उनको टिप्पणी छ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले महरा–शाही प्रकरण नेपालको राजनीतिक ईतिहासमै अनौठो घट्ना भएको सुनाए । उनले भने,‘संसद अहिले चालु छैन् । संविधानको धारा ९१ मै सभामुख र उपसभामुख फरक लिङ र फरक पार्टीको हुने व्यवस्था छ । अब त्यही हुनुपर्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले महराले राजीनामा दिएपछि सभामुखको पद स्वतः खाली भएको बताए । उनले भने,‘संसदको विन्टर सेसन सुरु भएपछि जानकारी गराएर सभामुखको निर्वाचनमा संसद जान्छ ।’ रोशनी शाहीको अभिव्यक्ति नि फरक–फरक आएकोले बलात्कार भएको हो कि होईन भन्ने कुरा अनुशन्धान हुुनुपर्ने बताए ।

राजीनामा कहिलेपनि शर्तसहित नहुने भन्दै उनले राजीनामा शर्तरहित हुने स्पष्ट पारे । उनले भने,‘बलात्कार भएको हो कि होईन भन्ने कुरा अनुशन्धानबाट मात्रै थाहा हुन्छ, शाहीले जाहेरी नदिएपनि उनले नै हटलाईनमा सम्पर्क गरेर घट्नाको बारेमा जानकारी गराएकोले अनुशन्धान (प्रहरी) को जारी रहन्छ । यसमा लिखित उजुरी वा किटानी जाहेरी चाहिँदैन् ।’ पौडेलले आरोपको स्टेटमेन्ट बदलियो भने शाहीपनि दोषी हुने टिप्पणी गरे ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सभामुखको राजीनामा नै स्विकृत भएकोले उक्त पद रिक्त भएको बताए । महराले ‘क्लिन–चिट’ नै लिएपनि अब सभामुखमा फर्किने सम्भावाना नभएको भट्टराईको दाबी छ । उनले संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक फरक दलको र फरक लिङ्गको हुनुपर्ने पनि बताए । अहिले संसद चालु नभएकोले अब चल्ने अधिवेशनमा संविधानबमोजिम निर्वाचन हुने उनले स्पष्ट पारे । भट्टराईले यो प्रकरणमा रोशनी शाहीमाथि अविलम्ब अनुशन्धान प्रारम्भ गर्नुपर्ने माग गरे । उनले भने,‘शाहीको अघिल्लो बयानले महरामाथि अनुशन्धान हुन्छ, तर, पछिल्लो बयानले शाहीमाथि पनि अनुशन्धान सुरु गर्नुपर्छ । उनीमाथि विद्युतीय कारोवार ऐनअनुसार कारवाही हुनुपर्छ।’

उनले मन लाग्यो भन्दैमा कसैको ईज्जत, प्रतिष्ठा र मानमा धावा बोल्न नपाईने स्पष्ट पारे। उनले यदि शाही डिप्रेसनको विरामी हो भने त्यसबारेमा पनि चिकित्सकले परीक्षण गरेर पुष्टि गर्नुपर्ने बताए । उनले भने,‘महिलाको पनि ईज्जत छ, पुरुषको पनि ईज्जत छ । रोशनीजीको कुन चाहीँ स्टेटमेन्ट सही हो ?’ उनले शाहीले महरामाथि लगाएको आरोप पुष्टि भयो भने कसुरअनुसार सजाय हुनेपनि जिकिर गरे । उनले भने,‘यौन दुव्र्यवहार, गाली गलौज, बलात्कार यी सबैमा कसुरअनुसार सजाय हुन्छ, बलात्कारको केसमा अधिकतम १५ वर्ष सम्म सजाय हुन्छ, सामान्य यौन दुव्र्यवहार हो भने ३ वर्ष र कुटपिट छ भने १ वर्षसम्म सजाय हुन्छ । कुन खालको अपराध हो, त्यो हरेर सजाय हुन्छ।’

शाहीले आफू डिप्रेसनको विरामी भएको भन्ने कुरा पत्यारलाग्दो नभएको पनि उनको भनाई छ । उनले भने,‘यदि उहाँले भनेजस्तो हो भने यो कुरा मानसिक सन्तुलन गुमाएको कुरा चिकित्सकबाट प्रमाणित हुनुपर्छ ।’ उनले शाहीको भनाईलाई पनि अनुशन्धान गर्नुपर्ने बताए ।

संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले महराले राजीनामा दिएपछि सभामुख पद रिक्त भएकोले अब उक्त पदको लागि निर्वाचन हुनैपर्ने स्पष्ट पारे । उनले भने,‘सभामुखको राजीनामा शसर्त हुँदैन् । राजीनामा भनेको राजीनामा नै हो । अब सभामुख पद रिक्त भयो । निर्वाचन हुनैपर्छ ।’

बहुदलीय प्रणाली भएकोले सभामुख र उपसभामुख फरक–फरक दल र फरक लिङ्गको हुनुपर्ने उनको भनाई छ । उनले यो प्रकरणमा ‘फस्ट ईन्फरमेशन’ का आधारमा प्रहरीले आफ्नो प्रतिवेदन दर्ता गर्नुपर्ने बताए । उनले भने,‘फस्ट ईन्फरमेशनका आधारमा प्रहरीले अनुशन्धान गर्नुपर्छ ।’ पीडित भनिने महिलाले अलग–अलग अभिव्यक्ति दिएपनि पहिलो सुचनाको आधारमा प्रहरीले अनुशन्धान सुरु गर्नुपर्ने उनको जिकिर छ ।

अहिले शाहीले बयान फेरेको कुरालाई उनले ‘एक्स्ट्रा जुडिसियल डकुमेन्ट’ भएको पनि बताए । यदि यो प्रकरणमा महराले क्लिन–चिट पाए महराको सांसद पद सुरक्षित रहनेपनि उनको भनाई छ । निर्दोष सावित भएपछि सांसद पद सुरक्षित हुने भएकोले सभामुखको निर्वाचनमा पार्टीले उम्मेद्धवार बनाएर सभामुख बन्नपनि सक्ने उनको तर्क छ । उनले शाहीको बाहिर आएको पहिलो भिडियाको आधारमा महराले सभामुखबाट राजीनामा दिएको बताए । यदि पहिलो भिडियोमा लगाएको आरोप गलत सावित भए उनलाई साईबर क्राईमको मुद्दा चलाउन सकिनेपनि उनको तर्क छ । शाहीमाथि यदि कसैले ज्यान मार्ने धम्की दिएको हो भने पनि कसले धम्की दिएको भन्नेबारे अनुशन्धान हुनुपर्ने ज्ञवालीले स्पष्ट पारे ।

कार्यक्रममा डेमोक्रेटिक लयर्स एशोसिएनकी महासचिव लक्ष्मी दाहाल रावलले शाहीमाथि जवरजस्ती करणी भएको हो कि दुव्र्यवहारमात्रै भएको हो भन्ने यकिन भएपछि दोषिमाथि सोहीअनुसारको सजाय हुने तर्क गरिन् । यो प्रकरणमा के भएको हो ? भन्ने कुरा सत्य, तथ्य बाहिर ल्याउनुपर्ने उनको माग छ । उनले भनिन्,‘यो घट्नाबारे सिंगो राष्ट्र नै जानकार छ । भोलि त्यस्तो घट्ना नहोस भनेर यो प्रकरणमा सत्य, तथ्य बाहिर आउनुपर्छ ।’

उनले उक्त घट्नाको चित्तबुझ्दो तरिकाले सेटलमेन्ट गर्नुपर्ने तर्क गरिन् । उनले भनिन्,‘यो त सभामुखको चरित्रहत्या मात्रै होईन, देशको बेईज्जति भएको छ । आरोपको आधार हेरेर छानबिन हुनुपर्छ ।’ शाहीले आफू डिप्रेसनको विरामी भनेर बोलेको कुरामा पनि चिकित्सकबाट प्रमाणित हुनुपर्छ । मानसिक रोगी भएको भए सरकारी जागिरेको लागि कसरी योग्य भईँन् ?।’ उनले सत्ताको शक्तिले उक्त घट्नालाई मोड्न नहुनेपनि ध्यानाकार्षण गराईन् । उनले महिलालाई अन्याय भएको भए न्याय दिनुपर्ने र महरालाई पनि गलत आरोप लगाईएको हो भने प्रतिष्ठामा आँच पुगेको सुनाईन् ।

प्रतिक्रिया