महाधिवेशन समयमै हुनुपर्छ : डा कोइराला

रिता घिसिंग

विराटनगर, १३ फागुन (रासस) : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्छ भन्नुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नहुने विचार व्यक्त गर्नुभयो ।

उहाँले पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठ्यारो लाग्छ भने त्यसमा मेरो केही भन्नु छैन भन्दै पार्टी सभापति शेरबहादुर देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार होइन भन्नुभयो ।

केन्द्रीय सदस्य डा कोइरालाले सङ्गठनलाई मजबुत बनाउन १४औँ महाधिवेशनका लागि केन्द्रीय समितिले अहिलेदेखि नै अभियानमा लाग्नुपर्ने भन्दै नेपाल विद्यार्थी सङ्घमा भएको विवादले परिणाम राम्रो नदिने सङ्केत गर्नुभयो ।

उहाँले नेपाल विद्यार्थी सङ्घमा लाग्ने विद्यार्थीको उमेरको हद ३२ वर्ष रहेको र यसलाई बढाउने वा नबढाउने कुरामा पार्टीमा छलफल भइरहेको बताउनुभयो । उहाँले न्यायपालिकालाई निरीह हुन नदिन र शान्तिसुरक्षालाई कसिलो बनाउन सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया