महाभुकम्पमा पुरिएको २२ घण्टापछि जीवितै झिकिएका बालक सोनिसको विद्यालयमा पुग्दा यस्तो देखियो [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। निलो रंगको विद्यालय टिसर्ट अनि मन्द हरियो रंगको ट्राउजर र सेतो जुत्ता लगाएका बालक मस्त निन्द्रामा थिए, आमाको काँधमा। देब्रे हातमा मोबाइल फोन छ, त्यही हातमा हरियो रंगको ब्याग पनि भिरेकी छन्।

 

देब्रे काँधमा भुसुक्कै निदाएका छोरा नखसोस् भनेर दाहिने हातले कैँचे पारी देब्रे हातलाई ढाडस दिइरहेको थियो। चार वर्षको छोरालाई बोकेर १० मिनेट हिँड्दा आमा रस्मिता अवालको श्वास अलि अलि फुलेको थियो, तर त्यो श्वास फुलाइमा रस्मिताको माया लपप्क टाँसिएको थियो छोराको लागि। तर तीन वर्ष अगाडि आजको दिन झण्डै उनले आफ्नो मुटुको टुक्रालाई सधैँको लागि गुमाउनुपरेको थियो।

सन्दर्भ २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पको। भक्तपुरको देकोचामा घर भत्किएर पुरिएका सोनिस अवाल पुरिएको २२ घण्टापछि जीवितै उद्धार भएका थिए। त्यो दिन नेपालको १४ वटा जिल्लालाई ७ दशमलव ८ म्याग्निच्यूटको भूकम्पले नराम्ररी हल्लायो।

गोरखाको बारपाकलाई केन्द्र बनाएर भूकम्प गएको भए पनि त्रासको केन्द्रबिन्दु भने धेरैको मनलाई बन्यो। पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार ८ हजार ७ सय ९० जनाले ज्यान गुमाए, २२ हजार तीन सय जनाभन्दा धेरै घाइते भए। कच्ची र पक्की गरी १० लाख भन्दा धेरै घरको क्षति भयो।

रस्मिता अवालको घरले पनि भूकम्पको धक्का थेग्न सकेन र गर्‍यालम्म ढल्यो। घरमात्र लडेन, रस्मिताको मायाको धरोहर पनि ढल्यो, १० वर्षकी छोरी सोनिसा अवाल र भर्खर पाँच महिना टेकेका छोरा सोनिस अवाल त्यही भग्नावशेषमा पुरिए।

रस्मिता अवाल छोरीलाई बाबु हेर्नु है भनि बाहिर गएकी थिइन्, उनले भक्तपुरका धेरै घर, मन्दिर, धरोहर ढलेको देखिन्। जमिन काम्न छाडेपछि हतार हतार घर फर्किइन्।

पहिलको जस्तो केही थिएन। धुलाम्मे भक्तपुरको आकाशमा उनको घरको धुँलो पनि उडेको थियो, एउटा ठूलो सन्त्रास छोडेर। उनको छोरी र छोरा त्यही भत्किएको घरको चेपमा परे। सास फेर्दैछन् वा छैनन् थाहा छैन।

त्यो दिन सम्झँदा रस्मिताको अनुहारको रंग अहिले पनि फेरिन्छ। ‘सम्झन मनै नलाग्ने तर सम्झनाले सधैँ झस्काउने दिन हो त्यो,’ रस्मिता तीतो स्मृति पोख्दै भन्छिन्, ‘छोरा छोरीको आशै भएन, श्रीमानको बारेमा पनि अन्जान थिए।’

भूकम्पले भत्किएको घरमा छरछिमेक, नेपाल आर्मीले कोट्याउन लागे, तीन घण्टापछि खुट्टा मास्तिर र टाउको तल भएको अवस्थामा छोरी भेटिइन्। रस्मिताले बल्ल सास फेरिन् अब उनलाई छोरा पनि भेटिने आश थियो।

तर जति घर खोतल्दा पनि छोरा भेटिएनन्, छोरीले भाइ आफ्नो हातबाट उछिट्टिएको बताएपछि सबैले आशा मारेका थिए। रस्मिताको श्रीमान् श्याम अवाल पनि त्यति बेलासँगै थिए।

‘छोरालाई खोजिरहेकी मलाई देखेर उहाँले भन्नुभयो, नभएकोलाई खोज्नुभन्दा भएकोलाई संरक्षण गरौँ।’ श्रीमानले सम्झाएको बोली सम्झँदै अवालले भनिन्, ‘मलाई सास नभएको बच्चा भए पनि आफ्नै काखमा ल्याउन मन लाग्यो, मैले आशा छोडिन।’

तर उनको आशा खेर गएन, भूकम्प गएको २२ घण्टापछि सेनाको टोलीले धुलाम्मे भएको सोनिसलाई भेट्टाए। सुरुमा सास छ भन्ने कसैलाई लागेको थिएन तर जब उनी उज्यालोतिर ल्याइए, अनि मुसुक्क मुस्कुराए। यो सबैको लागि उत्साह, उत्प्रेरणाको खबर भयो।

पत्रकार अमूल थापाले भग्नावशेषबाट बाहिर निकाल्दै गरेका सोनिसको फोटो खिचे। उनको यो फोटो देश विदेशसम्म पुग्यो, सबैलाई आशाको दियो बाल्दै। उनको बाँच्ने जीजिविषाले पनि सायद २२ घण्टासम्म उनलाई स्वास फेर्न सहयोग गर्‍यो।

अहिले सोनिस पाँच वर्ष पाँच महिनाका भएका छन्। एक वर्ष अघि चैतदेखि नर्सरी कक्षामा भर्ना भएका छन्। दुई वर्ष अगाडि सेनाले सोनिसलाई पढाउने वाचा गरेको थियो। सैनिक विद्यालयमा पढ्न कक्षा ६ मा पुग्नुपर्छ। त्यो भन्दा तलको कक्षा सोनिसले बाहिरको विद्यालयमा नै पढ्नु पर्ने छ। उनलाई व्यासीको एक मन्टेश्वरी विद्यालयमा पढाइएको छ।

उनको जन्म पनि समयभन्दा अगाडि नै भएको थियो। सोनिस रस्मिता र श्याम अवालका दोस्रो सन्तान हुन्। छोरी ९ वर्ष पूरा भएपछि मात्र दोस्रो सन्तानको बारेमा दम्पत्तिले सोचेका थिए।

२०७१ साल मंसिर २९ मा सोनिसको जन्म अस्पतालमा भयो। सोनिसकी आमा रस्मिताको स्वास्थ्यमा केही समस्या देखिएकोले गर्दा उनलाई झण्डै एक महिना अगाडि नै शल्यक्रिया गरेर निकालिएको थियो।

‘सोनिस दुई किलो भन्दा सानो थियो, मलाई पहिला नै गतिलो होला जस्तो लागेको थिएन,’ रस्मिताले भनिन्, ‘बल्ल काख भरिको भएको थियो, त्यो पनि भूकम्पले झण्डै पुरेको।’

उनीहरुको आफ्नो पहिलाको घर देकोचा हो, तर भूकम्पपछि उनीहरु भक्तपुरको महाकालिस्थान, व्यासीबाट अलिकति भित्र भएको डेरामा बस्छन्।

घरको लालपुर्जा नभएकोले पनि पुरानो ठाउँमा बनाउन सकेका छैनन्। उनको डेरामा दुईवटा खाट, एउटा बस्ने मेच, कपडा राख्ने दराज र लुगा सिलाउने मेसिन पनि छ। यस्तै एक कुनामा किचेन र्‍याकमाथि ग्यास स्टोभ छ।

सोनिसका बाबा श्याम ड्राइभरी पेशामा छन्। आमा सिलाई बुनाइको काम गर्छिन्, उनलाई उनीका कपडा बुुन्न पनि आउँछ। सोनिया स्कूल पढ्न जान्छिन्।

बिहान कमाउन गएका बुबाको आम्दानीले मात्र घर व्यवहार चल्दैन। ‘म समय भ्याएको बेलामा काम गर्छु ताकि घर खर्च जुटोस्,’ रस्मिता भन्छिन्, ‘उनी एकदमै चकचके छन्, उनलाई सम्हाल्न नै एक जना चाहिन्छ।’ उनी चुपचाप बस्न सक्दैनन्, कि हात चलेको हुन्छ, कि त खुट्टा।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू