महायज्ञमा रु दुई करोड सङ्कलन

शर्मिला गुरुङ

कावासोती, ३ फागुन  : विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले नवलपरासीको कावासोतीस्थित जनता माध्यमिक विद्यालयमा सञ्चालन गरिएको महायज्ञमा रु दुई करोड बढी रकम सङ्कलन भएको छ ।

नौ दिनसम्म चलेको महायज्ञमा रु एक करोड ३५ लाख ६५ हजार बराबर नगद सङ्कलन भएको छ। करीब रु ७० लाख बराबरको भूमिदान प्राप्त भएको आर्थिक समिति संयोजक यमबहादुर थापाले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका विद्यार्थीले आफ्नै ठाउँमा प्राविधिक शिक्षा पढ्न सकून भन्ने उद्देश्यले विद्यालयले श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरेको थियो ।

ग्रामीण क्षेत्रका विपन्न समुदायका विद्यार्थी खर्च अभावका कारण प्राविधिक शिक्षा पढ्नबाट वञ्चित हुनु नपरोस् र अन्य विद्यार्थी पनि अन्यत्र धाउन नपरोस् भनेर महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक होमनाथ सुवेदीले बताउनुभयो ।

विद्यालयमा कावासोती नगरपालिकासहित हुप्सेकोट गाउँपालिकाका विद्यार्थी अध्ययन गर्दै आएका छन् । विद्यालयमा ६६४ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक घनश्याम भुसालले जानकारी दिनुभयो ।

वडा अध्यक्षबाट रु तीस लाख सहयोग

जनता माविमा भएको महायक्षमा कावासोती नगरपालिका–६ का वडाध्यक्ष हेमप्रसाद पाण्डेले रु ३० लाख ५१ हजार १५१ सहयोग प्रदान गर्नुभएको छ । विद्यालयको शैक्षिक गुणस्तर विकास र प्राविधिक शिक्षा प्रदान गर्ने योजनालाई सार्थकता दिनका लागि आफूले सहयोग प्रदान गरको वडाध्यक्ष पाण्डेको भनाइ छ ।

उहाँले रु ५१ हजार १५१ नगदसहित करीब ३० लाख मूल्य पर्ने १३ धुर जग्गा विद्यालयलाई प्रदान गर्नुभएको हो ।

मिगौलापीडित बालकलाई नर्वेबाट सहयोग

मिगौलापीडित हुप्सेकोट गाउँपालिका बेलहानीका १५ वर्षीय बालकलाई नर्वेस्थित नेपालीले आर्थिक सहयोग प्रदान गरेका छन् । दुबै मिर्गौलाले काम नगरेका कारण बिरामी भएका १५ वर्षीय मनोज पाण्डेलाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले नर्वेमा रहेका नेपाली युवाले सहयोग सङ्कलन अभियान चलाएर सङ्कलन गरेको रु एक लाख पाँच हजार १२८ पीडितका बुबा पुरुषोत्तम पाण्डेलाई हस्तान्तरण गरिएको छ ।

मध्यविन्दु नगरपालिका चोरमारा निवासी हाल नर्वेमा रहनुभएका हरि पाठकको संयोजनमा नर्वेबाट सङ्कलन भएको रकम पीडितका बुबालाई हस्तान्तरण गरिएको हो ।

कक्षा ९ मा अध्ययनरत पीडित बालकको उपचारमा सहयोगका लागि परिवारले सबैमा आग्रह गरेको छ । आफूहरुसँगै भएको रकम उपचारमा सकिएको र अबको उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको लागि सबैसँग अनुरोध गरेको छ । रासस

प्रतिक्रिया