महिला फुटबल टोलीको बिदाइ

admin

काठमाडौँ, ८ कात्तिक: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ओलम्पिक छनोटको तयारीमा रहेको राष्ट्रिय महिला फुटबल टोलीलाई आज बिदाइ गरेको छ । एन्फाद्वारा आज यहाँ आयोजित कार्यक्रममा पहिलो पटक ओलम्पिक छनोटको तयारीका लागि शुक्रबार चीन भ्रमणमा जान लागेको महिला फुटबल टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शुभकामाना दिँदै बिदाइ गर्नुभएको हो । सो टोलीले चीनमा तीनवटा मैत्रिपूर्ण खेल खेल्नेछ ।

नेपालले यही कात्तिक १२ गते बेइजिङ फोनिक्स महिला फुटबल टोली, १३ गते बेइजिङ स्पोर्टस् युनिभर्सिटी र अन्तिम खेल १४ गते बेइजिङ फोनिक्ससँग खेल्नेछ । नेपाली टोलीमा २२ खेलाडीसहित दुई प्रशिक्षक, एक टोली नेता र एक व्यवस्थापक गरी २६ सदस्य सहभागी छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र तथा टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हिराचन थकाली छन् ।

चीन भ्रमण सकेर म्यानमामा हुने ओलम्पिक छनोट खेलका लागि कात्तिक १६ गते नेपाली टोली त्यसततर्m प्रस्थान गर्नेछ । ओलम्पिक छनोटमा नेपालको समूहमा आयोजक म्यानमासहित भारत र बङ्गलादेश छन् । नेपालले यही कात्तिक २२ गते भारत, २५ गते म्यानमा र २७ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
-रासस

प्रतिक्रिया