महोत्तरीका दुई स्थानीय तहले गरे ५०० बढी छात्रालाई साइकल वितरण

शर्मिला गुरुङ

काठमाडौँ, १७ जेठ  : छोरी शिक्षालाई प्रोत्साहन गर्न र महिला सशक्तीकरणको पाटोलाई शिक्षासँग जोड्न महोत्तरी जिल्लाका दुई स्थानीय तहले ५०० बढी छात्रालाई साइकल वितरण गरेका छन् । जिल्लाका लोहारपट्टी नगरपालिका र सम्सी गाउँपालिकाले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमको प्रवद्र्धन गर्न आफ्नो भूगोल क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत सो सङ्ख्याका छात्रालाई सोमबार जनही एक÷एक साइकल वितरण गरेका हुन् ।

लोहारपट्टी नगरपालिकाले आफ्नो नगर क्षेत्रका पाँच सामुदायिक माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत ३०० छात्रालाई साइकल वितरण गरेको छ । शिक्षामा महिलाको पहुँच बढाउन, छोरी शिक्षालाई प्रोत्साहन गर्न कक्षा–१० का छात्रालाई साइकल वितरण गरिएको नगरप्रमुख शैलेन्द्र यादवले बताउनुभयो । छोरीलाई पढ्न नपठाउने, विद्यालय पुगेका छात्रा पनि उपल्लो तहसम्म नटिक्ने र छोरीको पठनपाठनबारे चासो नदेखिने अवस्था चिर्न कक्षा–१० कै छात्रालाई साइकल वितरण गरिएको प्रमुख यादवको भनाइ छ ।

त्यसैगरी सम्सी गाउँपालिकाले आफ्नो भूगोल क्षेत्रका आधारभूत र माध्यमिक विद्यालयमा कक्षा–८ मा अध्ययनरत सबै छात्रालाई साइकल वितरण गरेको छ । छोरी शिक्षामा सबै तहका सरकार हरतरहले सहयोग गर्न तत्पर छन् भन्ने सन्देश प्रवाह गर्न कक्षा–८ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शेष फारुखले बताउनुभयो ।

दुवै स्थानीय तहमा साइकल पाउने छात्रामा धेरैजसो विपन्न र विभिन्न अवसरबाट पछि पर्दै आएका जाति समुदायका छोरी परेका दुवै स्थानीय तहले जनाएका छन् । चालू आर्थिक वर्ष २०७५÷७६ को शिक्षातर्फ छुट्याइएको बजेटबाट साइकल वितरण गरिएको हो ।

लोहारपट्टी नगरपालिकाले माध्यमिक तहको शिक्षा लिइरहेकी एक शारीरिक अपाङ्गता भएकी छात्रालाई तीनपाङ्ग्रे स्कुटर र नगर क्षेत्रभित्रका स्वास्थ्य संस्थामा आबद्ध ५० महिला स्वास्थ्य स्वयंसेविकालाई पनि एक÷एक साइकल वितरण गरेको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत शिक्षा बीमा, महिलामैत्री शौचालयको निर्माणजस्ता कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन र महिला शिक्षालाई प्रोत्साहन गर्न थप कार्यक्रम अघि बढाइने दुवै स्थानीय तहले जनाएका छन् । रासस

प्रतिक्रिया