माओवादी केन्द्रले गृहमन्त्री थापालाई सांसदबाट हटायो, सांसद पद गुमाएका चार मन्त्रीको पुनर्नियुक्ति

admin

काठमाडौं, २७ चैत : नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभामा आफ्नो सांसद् नरहेको सूचना सङ्घीय संसद् सचिवालयलाई दिएको छ । नेकपा एमाले प्रवेश गरेका गृह मन्त्री थापाले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद् सचिवालयमा पठाएको माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार अब बस्ने राष्ट्रिय सभा बैठकमा उनको राष्ट्रिय सभा सदस्य पद रिक्त हुनेछ । पार्टीले शुक्रबार राष्ट्रिय सभा सचिवालयलाई पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको नेता शर्माले जानकारी दिए । यसअघि बिहीबार नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशङ्कर चौधरीको प्रतिनिधि सभा सदस्य पद खारेज भएको थियो ।

सांसद पद गुमाएका चार मन्त्रीको पुनर्नियुक्ति, आज बेलुका शपथ ग्रहण हुँदै
सांसद पद गुमाएका चार मन्त्रीको पुनर्नियुक्ति भएको छ । मन्त्रीमा पुनर्नियुक्ति भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशङ्कर चौधरीले शुक्रबार बेलुका ५ बजे फेरि शपथ ग्रहण गर्ने तयारी छ । राष्ट्रपति कार्यालय शितल निवासमा उहाँहरूको शपथका लागि तयारी गरिएको छ ।

उनीहरूले यसअघिकै मन्त्रालय पाएका छन् । रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् । सङ्घीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ ।

गएको मंगलबार माओवादी केन्द्रले उद्योग मन्त्री लेखराज भट्ट, उर्जा मन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशङ्कर चौधरीलाई पार्टी र सांसदबाट हटाएको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको थियो ।

पार्टीको निर्देशन नमानेको, नेतृत्वविरुद्ध लागेको, एमालेमा प्रवेश गरेको लगायतका विषयमा सोधिएको स्पष्टीकरणको जवाफ नदिएको र पार्टीको सम्पर्कमा नआएको भन्दै चार जनालाई हटाइएको माओवादी केन्द्रले जनाएको थियो । बिहीबार नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज भएको थियो ।

प्रतिक्रिया