माघे संक्रान्तिमा दुईदिन सार्वजनिक बिदा

admin

बुटवल, पुस २१ : प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ। माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले दुईदिन बिदा दिने निर्णय गरेको हो। सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाइनुका साथै २ दिन सार्वजनिक बिदा दिइएको जानकारी दिए।

गतवर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा दुईदिन बिदा दिएको थियो। यस्तै मन्त्रिपरिषद बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म तीनदिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधिसहितको एक्स्पो गर्न लागिएको प्रवक्ता चौधरीले बताए।

बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ। बैठकले एक निर्देशकसहित १० जनाको दरबन्दी स्वीकृत गरेको हो। बैठकले रुपन्देहीका ईन्द्रप्रसाद पछाईलाई प्रदेश वन निर्देशनालयको निमित्त निर्देशकमा खटाइएको छ। बैठकले प्रदेश पदक नियमावली स्वीकृत, प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण अवधारणापत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया