माघ १४ गते बाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने

admin

काठमाडौं, ११ माघ : नेपालमा आगामी १४ गते बुधबार बिहान १० बजे कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत खोप अभियानको सुरुवात गर्ने जानकारी दिए ।

भर्चुअल कार्यक्रममा सातवटै प्रदेशका प्रदेश अस्पताल र काठमाडौं उपत्यकाका प्रमुख अस्पतालहरू जोडिने पनि मन्त्री त्रिपाठीले जानकारी दिए । बुधबार ६६ वटा अस्पतालका एक सय २० भन्दा धेरै खोप केन्द्रबाट खोप लगाउन सुरु गरिने र माघ १८ गतेभित्र ७७ वटै जिल्लाका अस्पतालहरूबाट खोप लगाउन सुरु गरिने उनले जानकारी दिए ।

पहिलो चरणको खोप कार्यक्रममा झण्डै चार लाख ३० हजार मानिसलाई खोप लगाउने तयारी रहेको र यो काम १० दिनभित्र सक्ने मन्त्री त्रिपाठीले बताए । लक्षित वर्गलाई मात्र खोप दिएको यकिन गर्न खोप लगाउनेहरूको सूची सार्वजनिक गर्ने र खोप खेर जाने दर कम गर्न सबै तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको १० लाख डोज खोप सातवटै प्रदेशमा पठाउने काम भइरहेको र यो खोपको तेस्रो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न भएकाले ढुक्क भएर लगाउन मन्त्री त्रिपाठीले सबैलाई आग्रह गरे ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा काम गर्ने कर्मचारीलगायतलाई खोप दिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया