माटो किनेरै भए पनि परम्परा धान्दै सोमबहादुर

शर्मिला गुरुङ

काठमाडौँ, २६ जेठ  : कुमाल समुदायको पुर्खौली पेशालाई जोगाउन रामपुर नगरपालिका–६ तिलकपुरका सोमबहादुर कुमालले माटो किनेर विभिन्न सामग्री तयार पार्नुहुन्छ ।



माटो अभावमा समुदायबाटै पेशा नै लोप हँुदै गएपछि ३१ वर्षीय कुमालले भने माटो किनेर भए पनि जसोतसो पेशालाई निरन्तरता दिँदै आउनुभएको छ । सानै उमेरदेखि बाबुबाट माटोको भाँडा बनाउने सीप सिक्नुभएका कुमालले अहिले व्यावसायिक तवरबाट यो पेशा अँगाल्नुभएको छ ।

पहिले माटो निकाल्दै आएको सार्वजनिक जग्गामा नेपाली सेनाले अतिक्रमण गरेपछि स्थानीय व्यक्तिसँग समन्वय गरेर माटो खरीद गरी पेशा चलाउन बाध्य भएको उहाँले बताउनुभयो ।

“माटो पनि किन्नु परेपछि अधिकांशले पेशा छाड्दै गएका छन्, मैले मात्र माटो किनेर भए पनि जसोतसो दुःख गरेर भए पनि यो पेशालाई निरन्तरता दिइरहेको छु”, उहाँले भन्नुभयो ।

स्थानीय व्यक्तिसँग प्रतिबोरा रु ५० देखि १०० सम्ममा माटो खरीद गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो । माटो खरीदमा पैसा खर्च गर्नुपर्दा व्यवसायमा भने समस्या परेको कुमालको गुनासो छ ।

“माटो किन्न नपर्ने भए पेशा धान्न समस्या छैन, बिक्री सजिलै भइरहेको छ,” उहाँले भन्नुभयो, “गाउँमा माटो अभाव भएपछि सबैले पेशा छाडिसकेका छन्, म एक्लैले सम्हाल्दै आएको छु ।” कुमालले माटोबाट बन्ने हाडी, घैटी, खुत्रुकेलगायतका विभिन्न सामान तयार पार्नुहुन्छ । साइज हेरेर रु २५० देखि एक हजार ५०० सम्मको मूल्यमा बिक्री भइरहेको छ ।

माटो तयार भएको खण्डमा दिनमा ५० भन्दा बढी हाडी, घैटी, खुत्रुके लगायतका सामग्री तयार पार्ने गरेको बताउँदै उहाँल माटोको व्यवस्था गरिदिन स्थानीय निकायसँग आग्रह गर्नुभयो । कुमालले माटोका भाँडा बनाएर मासिक रु ४० हजारसम्म कमाइ गर्नुहुन्छ ।

बजारमा माटोका भाँडाको माग राम्रै हुँदा बिक्रीका लागि सहज रहेको उहाँले बताउनुभयो । कुमालले यही पेशाबाट चार जनाको परिवार धान्दै आउनुभएको छ । कुमालले बनाएको भाँडा अवलोकन गर्न पुग्नुभएका रामपुर नगरपालिका नगरप्रमुख रमणबहादुर थापाले रु रु ५० हजार रकम दिने घोषणा गर्दै पेशालाई निरन्तर रुपमा अगाडि बढाउन अनुरोध गर्नुभयो ।

सोही ठाउँकै माटोको भाँडा बनाएर जीविका चलाउँदै आउनुभएकी दुर्गादेवी कुमाल माटो अभावमा पेशा नै छाड्न बाध्य भएको बताउनुहुन्छ । पुस्तौदेखि गर्दै आएको पेशा खोसिन पुग्दा धेरैको रोजीरोटी गुमेको छ । सार्वजनिक जग्गामा माटो निकाल्न रोक लगाएपछि माटोको भाँडा बनाउने पेशा संकटमा परेको ७५ वर्षका गंगाबहादुर कुमालको भनाइ छ । उपयुक्त माटोको स्रोत अभावमा पेशा नै हराउँदै गएको छ ।

कुमाल समुदायले माटोको भाँडा बनाउन माग गरेको खण्डमा आवश्यक सहयोग गर्ने वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपाने बताउनुुहुन्छ । जिल्लाको घोरबन्दा, पोखराथोक, रामपुर, गेझा, चिर्तुङ्धारा, ख्याहालगायतका स्थानमा बसोबास गर्दै आएका कुमाल जातिले माटोका भाँडा बेचेर आफ्नो जीवन निर्वाह गदै आए पनि अहिले यो पेशा लोप हुँदै गएको छ ।

वर्षौदेखि गर्दै आएको पेशा सङ्कटमा पर्न थालेपछि कतिपय कुमालले पल्लेदारी र मजदूरी गरी दैनिक गुजारा गर्न बाध्य भएका छन् ।

प्रतिक्रिया