माडीमा अयोध्याधामको ‘डीपीआर’ निर्माण सुरु

admin

काठमाडौं, मंसिर १९ : भगवान् श्रीरामको जन्म भएको विश्वास गरिएको चितवनको माडी नगरपालिकामा अयोध्याधाम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम सुरु भएको छ । अयोध्याधाम निर्माणको गुरुयोजना तयार भई ‘डीपीआर’ निर्माणको काम सुरु भएको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए ।

नगर प्रमुख ढकालले भने, ‘‘गुरुयोजना तयार भई डीपीआर निर्माणको काम सुरु भइसकेको छ, छिट्टै नै प्रतिवेदन आउने छ ।’’ प्रधानमन्त्री ओलीको निर्देशनमा अयोध्याधाम निर्माणको कामलाई तीव्रता प्रदान गरिएको बताउँदै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा अयोध्याधाम निर्माणको डीपीआरलगायत समग्र आयोजना अगाडि बढाइएको स्पष्ट पारे ।

अर्को वर्ष २०७८ सालको चैततिर पर्ने रामनवमीका अवसरमा भगवान् राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति अनावरण गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिन प्रधानमन्त्री ओलीबाट निर्देशन भएको बताउँदै नगर प्रमुख ढकालले निर्देशनबमोजिम काम अगाडि बढाइएको जानकारी दिए ।

उनका अनुसार डीपीआर तयार हुनेबित्तिकै मन्दिर निर्माणको बोलपत्र आह्वान गरिने छ । प्रधानमन्त्रीको चाहनाबमोजिम अन्तर्राष्ट्रिय स्तरको निर्माण गरिने सो मन्दिरका लागि करिब १० करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

भव्य मन्दिर निर्माणका साथै राजा दशरथले राज्य सञ्चालन गरेको दरबार, धर्मशाला, घोडसार, उद्यान तथा आधुनिक बसपार्क निर्माण गरिने उनले बताए ।

अयोध्याधाम निर्माणका लागि नगरपालिकाले एक सय बिघा जग्गा सो धामको नाममा हस्तान्तरण गर्ने निर्णय गरी यसअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइसकिएको जानकारी नगर प्रमुख ढकालले दिए ।

त्यसैगरी नगरपालिकाको वडा नं। ८ मा रहेको ५० बिघा जग्गा अयोध्याधामलाई उपलब्ध गराउने निर्णय नगरपालिकाले गरिसकेको उनले जानकारी दिए। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया