माधव नेपालसहित ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय

admin

काठमाडौं, ६ बैशाख : नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने र गराउन नेतृत्व गरेका ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बसेको बैठकले पार्टी अनुशासन विपरित गतिविधि गर्न नेतृत्वदायी भूमिका खेलेको भन्दै माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यस्तै फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमर थापालाई पनि स्पष्टीकरण सोधिएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा पार्टी अध्यक्ष केपी ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र महासचिव इश्वर पोखरेलले पेश गर्नुभएको सांगठनिक प्रतिबेदन सुझावसहित पारित भएको ज्ञवालीले बताउनुभयो । अध्यक्ष ओलीको प्रतिवेदनमा निर्वाचनमा जानुपर्ने परिस्थिति रहेकाले तयारी रहनुपर्ने उल्लेख छ ।

पार्टी निर्माणका कामहरु, पार्टीलाई नयाँ धरातलमा पुनर्गठित गर्ने कुराहरु, पार्टीलाई कमजोर गर्न गतिविधि गरिरहेका साथीहरुलाई फर्काउने प्रयासलगायतका विषयहरु प्रतिवेदनमा रहेको ज्ञवालीले बताउनुभयो । त्यस्तै बिभाजनकारी गतिविधिमा लागेकाहरुलाई ती गतिविधिहरु बन्द गरेर पार्टी एकतालाई सुदृढ गर्न फेरि पनि फर्किनका निम्ति प्रतिवेदनले आह्वान गरेको छ ।

त्यस्तै महासचिव पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रतिवेदनमा पार्टीलाई व्यवस्थित बनाउनका लागि ६ महिने कार्ययोजना रहेको ज्ञवालीले बताउनुभयो ।

उहाले भदौभर वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन गरिने, असोजमा प्रदेश अधिवेशन र मंसिरमा पार्टी महाधिवेशन सम्पन्‍न गर्ने गरी बनाइएको प्रस्ताव पारित भएको उहाले बताउनुभयो ।

महाधिवेशन आयोजक कमिटिको बैठक १० गते सम्मका लागि स्थगित भएको छ । त्यसअघि बैंशाख ९ गते पार्टीको नयाँ निर्माण हुने कार्यालयको बल्खुस्थीत मदननगरमा शिल्यानाश गर्ने कार्यक्रम रहेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया