मानव कल्याण समाजमा कलाकार शोभा सहयोग गर्न पुग्दा भयो यस्तो [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ यातुमहादेव मन्दिर नजिकै एउटा सेवाघर छ । जहाँ आफन्तले हेला गरेर विभिन्न समस्या, पीडा र रोग लागेपछि सडकलाई आश्रयस्थल बनाएकाहरुको सेवा गरिन्छ ।

मानव कल्याण समाज नामक एक सामाजिक संस्थाको छातामुनि सहयोगी मनका दानी हातहरुले यो सेवाघरको चुल्हो बाल्न सहयोग गर्दै आएका छन् । कलाकार शोभा पौडेलले मानव कल्याण समाजमा केहि खाद्यान्न सामग्री सहयोग गरेकी छिन्।

कलाकारितामा लागेकी शोभाले मानव कल्याणको बारेमा थाह पाएर उनले त्यहाँ सहयोग गर्ने मनसाय बनाइन्। सहयोग गर्न पुग्दा उनले धेरै बृद्द आमा बुबा भेटिन् जसको अनुहारमा उनले आफ्नै आमाबुबाको अनुहार भेटिन्।

त्यहाँ भएका हरेकको पृष्ठभूमि सहित सुमित्राले कथाव्यथा सुनाइरहदा उनको मन छोयो। उनले आफुलाई सम्हाल्न सकिनन् र उनी भावुक हुन पुगिन्।

वि.सं. २०७५ सालको बैशाखदेखि सञ्चालनमा आएको यस सेवाघरमा हाल ३० जना भन्दा बढीले आश्रयस्थल पाएका छन् । अहिले यहाँ ३ महिनाकी बालिकादेखि ७५ वर्षका पिताले आश्रय पाएका छन् । समाजले छिछि गर्ने मनरोगी मात्र होइन शारीरिक रुपमा अशक्त पक्षघातका बिरामी पनि यहाँ बसेका छन् ।

जब मानिसलाई परिवारदेखि नै घृणा लाग्छ अनि घर छोड्छ । रोग लागेको बखतमा परिवारले उपचार र हेरचाह गर्नुको सट्टा सडकमा ल्याएर छोडिदिँदा नेपालमा सडक मानवहरुको संख्या दैनिक रुपमा वृद्धि हुँदै गइरहेको मानस कल्याण समाजकी सुमित्रा चौलागाइँले बताइन् ।

विगत केही वर्षदेखि सडक मानवको क्षेत्रमा काम गर्दै आइरहेकी सुमित्रा र उनका अन्य ६ जना साथीहरुको पहलनै हो अहिलेको सेवाघर । २५ जना क्षमताको उक्त सेवाघरमा सबैलाई सुत्ने ओच्छ्यानको व्यवस्थापन गर्न नसक्दा हाल १० जनालाई भने भूइमानै ओच्छ्यान लगाएर सुताउने गरिएको छ ।

जसलाई दैनिक चलाउन मात्र मासिक रुपमा करिब ३ लाख रुपैयाँ लाग्छ । धेरै मनरोगी भएकाले औषधी व्यवस्थापन गर्नु, बिहान खाना, दिउँसो खाना र बेलुकी खाना र अन्य खर्च संस्थाले नेपालका मनकारी दाताहरुको सहयोगमा चलाउँदैं आएको छ ।

सुमित्राले भनिन्– ‘म २४ सै घण्टा सेवाघरमा रहेका आमाबुवा र दाजु दिदिहरुको सेवामा छु’ उनले थपिन्–‘सुरुमा हामीले सडक मानवलाई खाना खुवाउने प्रयास गर्यौं, त्यसपछि साथीहरुको सहयोगमा यो सेवाघर स्थापना गरेका हौं ।’

सेवाघर सञ्चालनमा सुमित्रासँगै उनका साथीहरु विजयकुमार पोखरेल, रामचन्द्र भण्डारी, सुदर्शन जोशी, कष्णमुरारी पुडासैनी, हरि तिमिल्सिना, सन्तोष निरौला र पछिल्लो समय लक्ष्मण वलले साथ दिएका छन् ।

सुरुका दिनमा साथीहरुबाटनै जम्मा पारेको सामाग्री र पैसाबाट चलेको यो सेवाघरमा पछिल्लो केही समययता भने जन्मोत्सव, विवाहको वर्षगाँठ र पितृको सम्झनामा आएर दान तथा सहयोग गर्नेहरुको संख्या बढेको छ ।

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू