‘मानसिक रोग र आत्मसम्मान वृद्धिका लागि योग सरल र सहज उपाय’

admin

काठमाडौं, ७ असार : (आज) सोमबार जुन महिना २१ तारिख अर्थात् विश्व योग दिवस । विश्व योग दिवस सन् २०१४ बाट मनाउन सुरु गरिएको हो । सन् २०१६ मा युनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रुपमा दर्ता गरेको छ ।

आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणको महत्त्व दिन्छ ।

आफ्नो नजरमा आफ्नो महत्त्व र उपस्थितिको मूल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्मसम्मानको वृद्धिका लागि पनि योग एकमात्र सरल र सहज उपाय भएको जानकारहरु बताउँछन् । गौतम बुद्धदेखि क्राइस्टसम्म, शिवदेखि कृष्णसम्म अनि अरु विभिन्न दर्शन केन्द्रीत महात्माहरूले पनि आफ्नो जीवनकालमा योग अभ्यास गरेका थिए ।

यसैबीच सरकारले योग दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षता मुख्य समारोह समिति गठन गरेको छ । कोरोना भाइरसको संक्रमणका कारणका समितिले सोमबार दिवस भर्चुअल माध्यमबाट मनाउँदैछ । कोरोना संक्रमणले निम्त्याएको परिस्थितिका कारण स्वास्थ्यका मापदण्ड अपनाएर दिवस मनाउन सरकारले आग्रह गरेको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आतिथ्यतामा भर्चुअल माध्यममार्फत कार्यक्रम गर्न लागिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । गत जेठ २६ गतेको मन्त्रिपरिषद् बैठकले यो दिवस मनाउनका लागि जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति रहने र समितिका अरु सदस्यहरु प्रमुख जिल्ला अधिकारीले नै तोक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया