मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने

रिता घिसिंग

काठमाडौँ, २० वैशाख : काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने बताउनुभएको छ ।महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीले आज यहाँ आयोजना गरेको ‘कलङ्की क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि छलफल’मा उहाँले काठमाडौँको ट्राफिक सुधारका लागि सडक वरपर मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाउन लागेको बताउनुभएको हो ।

“यातायात क्षेत्रको सुधारका लागि अस्तव्यस्त ढङ्गले सञ्चालन गर्न लागेको बस काउन्टर हटाउन लागेका छौँ”, उहाँले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यले उपत्यकाको शान्ति सुरक्षालाई मजबुद बनाउनका लागि रु पाँच करोडको लगानीमा सिसी क्यामरा जडान गर्न लागेको जानकारी दिनुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन महाशाखाले तीन महीने कार्ययोजना बनाएर अगाडि बढेको बताउनुभयो ।

उहाँले काठमाडौँमा बढ्दै गएको ट्राफिक जामलाई न्यूनीकरण गर्न टुँडिखेल वरपरका क्षेत्र र कोटेश्वरमा ‘पिक एण्ड ड्रप’को व्यवस्था गरिएको बताउँदै आइतबारदेखि उक्त व्यवस्था कलङ्की क्षेत्रमा पनि लागू गरिने बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले मुलुकको समग्र यातायात क्षेत्रको सुधारका लागि बस काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनुपर्ने बताउनुभयो ।

यात्रुले अनिवार्यरुपमा टिकट काटेर यात्रा गर्नुपर्छ”, उहाँले भन्नुभयो । यातायात क्षेत्रको सुधारका लागि सरकारले चालेको कदमलाई महासङ्घले स्वागत गरेको उहाँको भनाइ छ । महाशाखाले कलङ्की क्षेत्रलाई व्यवस्थित गर्नका लागि उपत्यकाभित्र चल्ने सवारी साधनलाई एक ठाउँ उपत्यका बाहिर चल्ने सवारी साधनलाई अर्को ठाउँ र मोटरसाइकललाई अर्को ठाउँमा ‘पिक एण्ड ड्रप’को व्यवस्था मिलाइएको प्रभागका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया