मासिक २० रुपैयाँ जम्मा गरेर सामाजिक कार्य

राष्ट्रिय समाचार समिति

खोटाङ, ४ साउन : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटमा गठित समूहमा ४३ घर आबद्ध छन् । ती घरका सदस्यले मासिकरूपमा रु २० का दरले लेबीवापत समूहमा रकम जम्मा गर्छन् ।अधिकांश दुमी राईको बस्ती रहेको बोहोरीबोटमा गठित समूहको बैठक हरेक महीनाको १ गते अनिवार्य बस्छ । बैठकमा सहभागी नहुने घरका सदस्यले अर्को महीना बसिने बैठकमा रु १०० बुझाएमा मात्र समूहमा आबद्ध हुन पाउँछन् ।

अशक्त तथा एकल परिवार रहेका घरको व्यक्तिलाई भने उक्त नियम लागू गरिएको छैन । उनीहरुले छिमेकी तथा आफन्तलाई लेबीवापतको मासिक शुल्क रु २० बैठक खातामा जम्मा गर्न पठाउने गर्छन् । मर्दा–पर्दा आफ्नै घरका सदस्यजस्तो व्यवहार गर्ने बोहोरीबोटका स्थानीयवासी लामो समयदेखि समूहमा आबद्ध छन् । समूहमा आबद्ध छ घर मगरबाहेक अन्य सबै दुमी राई परिवारका सदस्य रहेका छन् ।

उनीहरुमध्ये कुनै घरपरिवारका सदस्य बिरामी परेमा एकजुट भएर उद्धारमा सहभागी हुन्छन् । शुभकार्य तथा कीरियामा सबै घरका सदस्य सहभागी नभए समूहमा आबद्ध हुन पाइँदैन अर्थात् सो समूहबाट अलग हुनुपर्छ । समूहमा आबद्ध घरका सदस्यको विवाहमा एक पाथी चामल र चार माना रक्सी तथा कीरियामा चार माना चामल र दुई माना रक्सी जम्मा गर्छन् । विवाह तथा कीरिया परेको घरमा जम्मा गरिएको चामल उनीहरु आफँैले पकाउँछन् र पाहुनालाई समेत सम्मानका साथ वितरण गर्छन् ।

उनीहरुले काजभोजमा चलाउन सोही मासिक लेबीवापत जम्मा गरिएको रकमबाट २९७ थाल, १५१ बटुको, पाँच खाना पकाउने भाँडा, ७० चियाकप, ५० पानी खाने जग, छ बाटा, पाँच बाल्टी, दुई गाग्री, दुई पन्यूँ र छ वटा डाडु खरीद गरेका छन् । तीन स्ट्रेचर, एउटा पाल, ३०० मिटर पाइप, एउटा जेनेरेटर र साउण्ड सिस्टम खरीद गरेका छन् ।

सामग्री खरीद गरेर बचेको पैसा समूहकै जगेडा कोषमा जम्मा गरिएको अध्यक्ष दिलकुमार राईले बताउनुभयो । “समूहमा आबद्ध सदस्यमा विभिन्न आपत्ति आइपर्न सक्छ”, उहाँले भन्नुभयो, “भैपरी आउने सदस्यको उपचार खर्चका लागि रु ८१ हजार ८० बजेट जगेडा कोषमा राखिएको छ ।” समूहमा आबद्ध घरका सदस्य रोजगारमा संलग्न रहेको भएमा उक्त परिवारले समेत समूहको बचत खातामा रु एक हजार जम्मा गर्ने गरेका छन् । उनीहरुले जम्मा गरेको रकमसमेत कोषमा राख्ने गरिएको छ ।

स्थानीय भाषामा पगरीभाइको नामले चिनिने समूहको रकमलाई आगामी दिनमा सहकारी बनाएर जम्मा गर्ने योजना बनाइएको सचिव दीपेन्द्र राईले बताउनुभयो । “गाउँमा बेरोजगार रहेका व्यक्तिलाई आफ्नै ठाउँमा केही गर्न चाहेमा कोषमा जम्मा भएको रकम तीन महीनाका लागि निब्र्याजी दिने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो । समूहमा आबद्ध सदस्यहरु मिलेर आफ्नो गाउँमा बिग्रिएको बाटो मर्मत तथा सरसफाइसमेत गर्दै आएका छन् । समूहलाई नगरपालिकाले गठन गरेको टोल विकास समितिमा समेत आबद्ध गराइएको वडाध्यक्ष रामचन्द्र राईले बताउनुभयो । रासस

प्रतिक्रिया