मिचिँदै नदी र पोखरी, फैलँदै छठ

admin

काठमाडौं, कात्तिक १६ : बढ्दो सहरीकरणले उपत्यकाका नदी तथा पोखरी मिचिँदैछन् । यिनै साँघुरा नदी तथा पोखरीका किनारमा मनाइने सांस्कृतिक सद्भावको पर्व छठ भने फैलँदो छ । परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दै मनाइने छठ पछिल्लो समय धार्मिक सद्भावको पर्व बन्न थालेको छ ।

एक दशकअघिसम्म तराईका हिन्दु धर्मावलम्बी समुदायमा सीमित यो पर्व पछिल्लो समय पहाडी समुदायसँगै पहाडी भूभागमा पनि फैलिएको छ । त्यसको झल्को राजधानीका नदीकिनार तथा पोखरीमा देखिन्छ । आठ दशकअघि कालीमाटी टंकेश्वरको विष्णुमती नदीमा केही व्यक्तिले सुरु गरेको छठ पूजा अहिले काठमाडौं उपत्यकाका मात्रै २० भन्दा बढी स्थानमा गरिन्छ ।

‘उति बेला रौनियार थरका केही मान्छे जम्मा भएर पूजा गरेको देख्थ्यौं,’ ७० वर्षीय श्यामसुन्दर उपाध्यायले ६ दशकअगाडिको छठ पूजाको सम्झना गर्दै भने, ‘हेर्ने मान्छे पनि खासै हुँदैनथे ।’ १० वर्ष यता भने राजधानीका विभिन्न ठाउँमा छठ पूजा गर्ने र हेर्ने मानिसको भिड लाग्नेगरेको उनले सुनाए ।

उपाध्यायले भनेजस्तै यति बेला कालीमाटी, रानीपोखरी, कुपन्डोल, थापाथली, गौरीघाट, बल्खु, बानेश्वरको बागमती पुल, गुह्येश्वरी, कमलपोखरी, नागपोखरीलगायतका स्थान शनिबार साँझ हुने छठपूजाका लागि सिँगारिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा उपेन्द्र लामिछानेले लेखेका छन् ।

प्रतिक्रिया