मिडिया काउन्सिल विधेयक खारेजी हाम्रो माग होइन : अध्यक्ष आचार्य

राष्ट्रिय समाचार समिति

सल्यान, २६ साउन: नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल विधेयक खारेज गर्ने माग महासङ्घको नभएको बताउनुभएको छ । उहाँले पत्रकार महासङ्घ सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेकाले यसका विरुद्धमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



नेपाल पत्रकार महासङ्घको आयोजनामा आज सदरमुकाम खलङ्गामा आयोजित ‘पत्रकार महासङ्घकोे वर्तमान भूमिका र अबको कार्यदिशा’ विषयक कार्यशाला गोष्ठीमा अध्यक्ष आचार्यले मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको र त्यसको संशोधन गरिनुपर्ने माग महासङ्घको भएकाले आन्दोलनमा होमिएको बताउनुभयो ।

“पत्रकारलाई समाचार लेखेकै कारण अन्य कानून लगाएर दण्डित गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको छ, यो कुरा पत्रकारलाई मान्य हँुदैन”, उहाँले भन्नुभयो । प्रेस स्वतन्त्रताको अहिलेको आन्दोलन रोकिएको नभई स्थगित गरिएको उहाँको भनाइ थियो । “प्रेस स्वतन्त्रताको पक्षमा आन्दोलन गरेको ६५ वर्ष पूरा भएको छ, प्रेस स्वतन्त्रताको विपक्षमा कुनै सम्झौता हुन सक्दैन”, अध्यक्ष आचार्यले भन्नुभयो ।

महासङ्घका महासचिव रमेश विष्टले मिडिया काउन्सिल विधेयक पत्रकारसँग छलफल नै नगरी ल्याइएको बताउनुभयो । “पत्रकारको विषयमा कानून निर्माण गर्दा महासङ्घसँग छलफल गरिनुपर्छ, समाचार लेखकै कारणले पत्रकार जेल जान नपरोस् भन्ने हाम्रो माग हो”, उहाँले भन्नुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानले पत्रकारलाई गणतन्त्रको संस्थागत विकासका लागि कलम चलाउन आग्रह गर्नुभयो । “स्थानीय तहमा अझै कानूनी व्यवस्थाका बारेमा अन्योलपूर्ण वातावरण छ, यसबारे कलम चलाएर सचेत बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो । कर्णाली प्रदेशका १० जिल्लाका पत्रकारको सहभागिता रहेको उक्त कार्यक्रम सोमबारसम्म चल्नेछ । रासस

प्रतिक्रिया