मिडिया विधेयक संशोधन गर्न रुपन्देहीका सम्पादकहरुको माग

शर्मिला गुरुङ

काठमाडौँ, १७ जेठ : सरकारले ल्याउन लागेको मिडिया विधेयक संशोधन गर्न रुपन्देहीका सम्पादकहरुले माग गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाको आयोजना र ‘चाँदनी नेपाल’को सहयोगमा बुटवलमा आज आयोजित ‘मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयक’ विषयमा गरिएको छलफलमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले मिडिया विधेयकका कतिपय प्रावधानले मिडियाको स्वतन्त्रतामा आँच पुग्ने भएकाले तत्काल सच्चाउन आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले सरकारले सञ्चार संस्थाका नेतृत्वकर्तासँग छलफल नै नगरी मिडिया विधेयक ल्याएकाले त्रुटिपूर्ण रहेको बताउनुभयो । “मिडिया बुझेका सम्पादक र पत्रकारसँग छलफल गरी विधेयक ल्याउनुपथ्र्यो”, उहाँले भन्नुभयो, “मिडिया विधेयक काउन्सिल संशोधन वा फिर्ता गरेर मात्र हुँदैन प्रेस काउन्सिलको संरचना परिवर्तन गर्न जरुरी छ ।”
मिडिया विधेयकका कारण समाचार लेखेकै भरमा पत्रकारले समस्या झेल्नुपर्ने स्थिति सिर्जना हुने भएकाले यसमा गम्भीर हुन उहाँले सरकारसँग माग गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाका पूर्वअध्यक्ष बालकृष्ण चापागाईंले पत्रकारितामा देखिएको विकृतिका नाममा मिडियालाई अप्ठ्यारोमा पार्ने विधेयक ल्याउन नहुने बताउनुभयो । “मिडिया सङ्कटमा पर्ने गरी आउने कुनै विधेयक मान्य हुँदैन । मिडियामा विकृति छन् भने स्वयम पत्रकार सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो । महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष विनोद पहाडीले विरोध भएपछि गुठी विधेयक फिर्ता लिने सरकारले मिडिया विधेयक फिर्ता नलिनु बिडम्वना भएको धारणा राख्नुभयो ।

रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसीले प्रेस स्वतन्त्रता हनन गर्ने विधेयक महासङ्घलाई मान्य नहुने भएकाले मिडिया विधेयकमा भएका त्रुटि सच्चाएर अगाडि बढ्न सरकारलाई सुझाव दिनुभयो । पत्रकारिताको मर्म र भावना बुझेर विधेयक संशोधन गर्न उहाँले माग गर्नुभयो । एभिन्यूज टेलिभिजनका ब्युरो प्रमुख दामोदर खनालले विधेयक सुधारका लागि दबाब आवश्यक भएको बताउनुभयो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारले सञ्चार क्षेत्रलाई नियमन गर्ने नाममा नियन्त्रण गर्न कुनै ऐन ल्याउन नहुने बताउनुभयो । रासस

प्रतिक्रिया