मिथिलामा छठको चहलपहल

admin

महोत्तरी, १३ कात्तिक:मिथिला क्षेत्रमा अहिले छठ पर्वको चहलपहल शुरु भएको छ । यहाँ छठका लागि साप्ताहिक हटिया लागेको छ । जिल्लाका नगर क्षेत्र र साप्ताहिक हटियामा माटाका भाँडा, बाँसका कप्टेरा र चोयाले बनेका सामान तथा केराका घरी राखिएको छ ।

छठ पर्वमा दियो, दही जमाउने भाँडा, कलश, ढकना र तौलासहितका भाँडा माटोकै प्रयोग गर्ने परम्परा छ । त्यसैगरी बाँसको कप्टेरा र चोयाले बनेका नयाँ छिटी, नाङ्लो, चाल्नो, पङ्खासहितका सामग्री प्रगोग गरिने बिधि छ । मिथिला क्षेत्रमा जताततै केराका घरीको बजार जमेको छ । छठमा व्रतालु र भाकल गर्नेले केराका घरी चढाउने अनिवार्य परम्परा छ । छठ पर्व मिथिलाको साझा पर्व जस्तै बनेको छ ।

कात्तिक शुक्ल चौथीका दिन शुरु भएर सप्तमीका दिन बिहान सम्पन्न गरिने छठ सूर्य उपाशनाको पर्व हो । छठ पर्वमा व्रत लिने मात्र नभएर परिवारका, नातागोताका र छरछिमेकका सबै परिचालित हुने हुँदा यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनिसकेको छ । अहिले मिथिलामा जताततै सूर्य उपाशनाका गीत गुञ्जिरहेका छन् ।

प्रतिक्रिया