मिथिलामा देवी प्रतिमा विसर्जन

राष्ट्रिय समाचार समिति

महोत्तरी, २२ असोज: मिथिलामा यसपालिको दशहरा (दशैँ) पर्वका लागि स्थापित देवी प्रतिमा मङ्गलबार विसर्जन गरिएका छन् । भाकल र उत्सवका लागि माटो मुछेर निर्माण गरी प्राणप्रतिष्ठा गरिएका देवी प्रतिमा असोज शुक्ल दशमी तिथिमा पवित्र तलाउमा विसर्जन गरिएका हुन् । विसर्जन गर्दा गहिरो पानीमा मूर्ति (प्रतिमा) लाई चुर्लुम्म डुबाउन पर्ने चलन छ ।

मिथिलामा पर्वको उत्सव मनाउन सामुहिक रुपमा वा भाकल पूरा गर्न देवी प्रतिमा निर्माण गरी शास्त्रोक्त विधिले प्राण प्रतिष्ठा गरी नवरात्रभरि पूजाआराधना गर्ने परम्परा छ । यद्यपि असोज शुक्ल प्रतिपदाबाट कर्मकाण्डी ब्राह्मणबाट दैनिक चण्डीपाठ गरिए पनि निर्मित प्रतिमाको प्राण प्रतिष्ठा भने फूलपातीका दिन प्रतिमाका आँखा उघारेपछि मात्र गरिन्छ ।

नवमीका दिन नवदुर्गाको पूजाआराधना पूर्ण हुने मैथिल मान्यता छ । देवी प्रतिमा बनाइएका यस्ता स्थलमा दशमीका दिन बिहान चण्डीपाठ गर्ने ब्राह्मणले त्यहाँ राखिएको कलशको जलले अभिशेक गर्दै यजमान (कर्ता, दर्शनार्थी) लाई जमरा दिने गर्दछन् । मिथिलामा पछिल्लोपटक पर्वते समुदायसँगको घुलमिलले टीका लगाउन थालेपनि मैथिल परम्परामा भने यो चलन नरहेको पाका मैथिल (मिथिलाका बासिन्दा) बताउँछन् ।

अभिशेक र जमरा लगाइएपछि देवी प्रतिमा पवित्र जलाशयमा विसर्जन गरिन्छ । यसक्रममा देवी दुर्गा भवानीको जयजयकार गर्दै नाचगान गरेर दशहरा पर्व सम्पन्न गर्ने मैथिल परम्परा रहेको बर्दिवास नगरपालिका–२ का कर्मकाण्डी ब्राह्मण महेशकुमार झा बताउनुहुन्छ । माटो मुछेर बनाइएका देवी प्रतिमाबाहेक परम्परादेखि स्थापित धातुका मूर्ति रहेका देवी मन्दिरमा भने देबी पूजन विसर्जन गरेर प्रसादस्वरुप जलअभिशेक र जमरा पुजारीले दर्शनार्थीलाई दिने गर्दछन् ।

रावण बध मेला
बडादशैँ पर्वमा देवी दुर्गाको पूजा आराधना गर्ने परम्पराबीच महोत्तरीको भारतीय सीमावर्ती मुख्य नाका मटिहानीमा भने रामायण गाथा गाइने गरिन्छ । मटिहानीमा वर्षेनी ‘रावण बध’ मेला नै आयोजन गरेर नवरात्रभरि रामायण पाठ कीर्तन गरी दशमीका दिन रावणरुपी दुष्ट प्र्रवृतिको अन्त्य भएको खुशियालीमा उत्सव मनाउने यहाँको पुरानो परम्परा हो ।

नवरात्रभरि (असोज शु्क्लपक्ष लागेदेखि नै) राम–रावणको घमासान लडाइँ भएको र दशमीका दिन मर्यादा पुरुष श्रीरामले रावणलाई ढाल्नुभएको विश्वासमा मटिहानीमा रावणबध मेलाको आयोजन परम्परादेखि हुँदै आएको छ । दशमीका दिन त्यहाँ निर्मित अजङ्गको रावण प्रतिमालाई श्रीरामको भूमिकाका कलाकारले तिरले हानेर लडाएपछि विजय उत्सव मनाइदै मेला सम्पन्न हुने परम्परा रहेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो ।

रावण बध मेलामा टाढाटाढाबाट साधुसन्त सहभागी हुने गरेका छन् । यहाँ वर्षाकाल बितेपछि शरद ऋतु लागेसँगै श्रीराम सीताजीको खोजीमा लङ्का पुग्नुभएको र रावणसँग युद्ध गरेर सत्य स्थापित गर्नुभएको विश्वास गरिन्छ । रावणबध मेलाका अवसरमा अशोज शुक्ल प्रतिपदादेखि नै रामचरित मानस (श्री सन्त तुलसीदासविरचित रामायण महाकाव्य) पाठ गरिने परम्परा छ ।

रावणबध भएपछि साधुसन्तलाई भोजन गराई दक्षिणा दिने र श्रीराम कीर्तन गर्दै उत्सव मनाउने गरिन्छ । श्रीरामले रावणको संहार गर्नुभएको र देवीले महिषासुरसहितका दैत्यको मर्दन गर्नुभएको चन्द्रमासका गणनाले एउटै पक्ष परेको विद्वान्को मत छ । देवीको लडाइँ सत्य युगमा र श्रीरामको त्रेता युगमा भए पनि दुवै लडाइँ असोज शुक्लपक्षमै भएकाले विजयादशमीमा रावणबध मेला आयोजन हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिको भनाइ छ ।

प्रतिक्रिया