मुक्तहलिया भन्छन्– ‘बास त भयो, गाँस भएन’

शर्मिला गुरुङ

भीमदत्तनगर, १९ वैशाख : कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदीको छेउमा ४८ वर्षीय धनीराम लुहार घर बनाउँदै गरेको अवस्थामा भेटिनुभयो । दश वर्ष हलिया बसेपछि विसं २०६५ मा मुक्त भएका धनीरामले बितेको एक दशकमा पनि अरुको घरमा काम गरेर परिवारको जोहो गरेको अनुभव सुनाउनुभयो ।

“साहुबाट लिएको ऋण तिर्न नसक्दा बुवाले जीवन नै अरुको घरमा काम गरेर बिताउनुप¥यो”, धनीरामले रासससँग भन्नुभयो, “सरकारले मुक्त हलिया पुनःस्थापना प्याकेज ल्याए पनि त्यो दीर्घकालीन छैन ।”

बागफाँटामा पुनःस्थापना कार्यक्रमअन्तर्गत हाल ३५ परिवारका लागि दुईकोठे घर निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । भूमि सुधार कार्यालय कञ्चनपुरले मुक्त हलियालाई घर बनाउन प्रतिपरिवार रु २५ हजार दिएको छ । तर उक्त रकमले घर बनाउन अपुग भएको मुक्त हलियाको दुखेसो छ ।

“जस्ता र छानाका लागि दातृ निकायले सहयोग नगरेको भए बासका लागि पनि समस्या हुन्थ्यो”, लुहारले भन्नुभयो, “बसोबासको प्रबन्ध त जेनतेन भयो तर गाँसका लागि फेरि भौतारिनुपर्ने अवस्था छ ।” उहाँले मुक्तहलिया बस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जालजस्ता पूर्वाधार नहुँदा अझ समस्या बल्झिएको बताउनुभयो ।

“गाँसका लागि हामीले फेरि अरुको काम ताक्नुको विकल्प छैन”, उहाँले भन्नुभयो, “सरकारले मुक्त हलियाका लागि रोजगारी र सीपमूलक तालीम दिएमात्रै परनिर्भरता हट्न सक्छ ।”

सरकारले फेरि हलियालाई शहरी क्षेत्रको छेउछाउमा राख्नुको सट्टा नदीको छेउमा ल्याएर राखेको भन्दै उहाँले बाढीको समस्याबाट मुक्त गराउन मागसमेत गर्नुभयो । “नौ धुर जग्गामा घर बनाएर परिवारलाई त ओत लगाउने ठाउँ हुँदैछ”, लुहारले भन्नुभयो, “आयमूलक प्याकेज नदिएसम्म हलियाको अवस्था उस्तै रहने निश्चित छ ।”

त्यसैगरी स्थानीय वीरराम लुहारले पनि पुनःस्थापना गर्न राज्यले उचित सम्बोधन नगरेको गुनासो पोख्नुभयो । “थोरै जग्गा र अपुग रकम दिँदा घर पूरा नहोला भन्ने चिन्ताले आफैँ निर्माणमा लागेका छौँ” उहाँले भन्नुभयो, “छाक टार्न कहाँ जाने ? के गर्ने भन्ने चिन्ता हटेको छैन ।”

त्यसैगरी पुनःस्थापना बस्तीका १४ वर्षीया राधिका दमाइले बस्तीमा कुनै सुविधा नपाएको बताउनुभयो । “सडक सञ्जाल राम्रो नहुँदा दिनहँु खोला तरेर स्कूल जान्छु”, कक्षा ६ मा अध्ययनरत दमाइले भन्नुभयो, “देशका धेरै परिर्वतन आयो भन्छन् तर कहाँ आयो थाहा भएन ।”
कञ्चनपुरमा रहेका दुई हजार ५१६ मुक्तहलियामध्ये अहिले एक हजार ८१० परिवारको पुनःस्थापन भइरहेको छ भने ७०६ परिवारको पुनःस्थापना बाँकी रहेको राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले जनाएको छ । मुक्त हलियालाई चार वर्गमा वर्गीकरणसमेत गरिएको छ । रासस

प्रतिक्रिया