मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा २७ वैशाखमा मतदान

admin

काठमाडौं, २३ बैशाख :गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा २७ वैशाखमा मतदान हुने भएको छ।

राष्ट्रिय जनमोर्चाका सांसद सम्पर्कविहीन हुँदा स्थगित भएको अविश्वास प्रस्तावमाथिको मतदान २७ वैशाखमा गर्ने सहमति भएको छ। बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुटेको प्रदेश सभा सचिवालयले जनाएको छ। 

कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा (एमाले)ले २८ वैशाखमा र विपक्ष दलले २६ वैशाखमा प्रदेश सभा बैठक बसाल्न माग गरेका थिए।

सभामुख नेत्रनाथ अधिकारीले २७ वैशाखको मिति तोकेका हुन्।  प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रतिनिधि सभामा २७ वैशाखमै विश्वासको मत लिँदै छन्। एमालेले संघमा टुंगो लागेपछि मात्रै प्रदेशमा टुंग्याउनुपर्ने मत राखेका थिए भने विपक्षी दलले संघभन्दा पहिले टुंग्याउनुपर्नेमा जोड दिएका थिए। सभामुख अधिकारीले बीचको बाटो अपनाएका हुन्। 

यसअघि १५ वैशाखमा अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो। तर, जनमोर्चा सांसद खिमविक्रम शाही एकाएक सम्पर्कविहीन भएपछि रोकिएको थियो।  गण्डकी प्रदेश सभामा एमालेका २७, नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२, जनमोर्चाका तीन, जनता समाजवादी पार्टी (जसपा)का दुई र एक जना स्वतन्त्र सांसद छन्। ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसद चाहिन्छन्। 

जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्ध मतदान गर्ने निर्णय गरेपछि अविश्वासको प्रस्तावको पक्षमा ३२ सांसद पुग्छन्।

प्रतिक्रिया