मुहार फेर्दै काठमाडौंका सडक

राष्ट्रिय समाचार समिति

काठमाडौं, ५ चैत : गत वर्षमा चिल्ला सडक खोज्नुपर्ने अवस्था रहेको काठमाडौं उपत्यकामा बिस्तारै खाल्डाखुल्डी हट्दै छन् ।

उपत्यकामा विस्तारका क्रममा रहेका सडकबाहेक अन्यत्र खाल्डाखुल्डी कम मात्रै देखिन थालेको छ । गत साता सोह्रखुट्टे-बालाजु सडकखण्डमा कालोपत्र थप्ने काम (ओभरले) भएको थियो । गत साता नै ललितपुरको पुल्चोकलगायत स्थानमा आवधिक मर्मतको काम भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनानुसार उपत्यकाका तीनै जिल्लामा खाल्डा पुर्ने र ‘ओभर ले’ को काम अघि बढेको हो । मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उपत्यकाका सडक खाल्डा पुर्ने कामलाई विशेष ध्यान दिएको देखिन्छ ।

गत वर्ष जेठको अन्तिम वा असार महिनामा हतारमा सडकमा काम हुने देख्दै आएका उपत्यकावासी पनि अहिले दोस्रो चौमासिकमा भएको काम देखेर अचम्ममा पर्न थालेका छन् । काठमाडौं जिल्लामा अहिलेसम्म झण्डै २० किलोमिटर सडकमा कालोपत्र थप्ने काम सकिएको छ । आवधिक मर्मतअन्तर्गत उपत्यकाका मुख्य र भित्री भागका सडकमा गरी कालोपत्र भइरहेको छ ।

यस वर्ष ४१ किमी सडकमा कालोपत्र थप्ने योजनानुसार झण्डै ५० प्रतिशत काम सम्पन्न भएको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । कुनै पनि सडकको आयु सीमित वर्ष मात्रै हुने भएकाले सडकमा यस किसिमको मर्मत गर्नुपर्ने डिभिजन प्रमुख कुबेर नेपालीले बताए ।

आमनागरिकले खाल्डा नभएको सडकमा मर्मत गरेको भनेर गलतरूपमा बुझ्ने गरेको उनले बताए । उनले भने, “सडकमा खाल्डा पुर्नुभन्दा पहिले नै सम्भावित स्थानमा कालोपत्र एक दिनपहिले हुँदा पनि धेरै रकम बचाउन सकिन्छ ।”

डिभिजनले उपत्यकाका मुख्य र सहायक सडकमा गरी आवधिक मर्मत गरिरहेको छ । ‘ओभर ले’ र खाल्डा पुर्ने काम यही महिनाको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको प्रमुख नेपालीले बताए । उपत्यकाका तीनै जिल्लामा एकैपटकमा मर्मतको काम भइरहेकाले आवश्यक सामग्री पनि पर्याप्त नहुने उनले बताए ।

काठमाडौं जिल्लामा मुख्य र कतिपय सहायक सडकमा पनि सवारीसाधनको चापका कारण काम गर्ने अवस्था छैन । रातमा काम गर्दा बढी लगानी लाग्ने भए पनि यही समयमा काम गर्नुपर्ने बाध्यता छ । उनले भने, “कतिपय स्थानमा रातमा समेत सवारीसाधनको चाप हुँदा एकातर्फ काम गर्ने र एकातर्फ सवारीसाधन चल्न दिइने गरिएको छ ।”

काठमाडौं उपत्यकाका खाल्डाखुल्डीमा यस वर्ष प्रधानमन्त्रीदेखि विषयगत मन्त्रालयले समेत चासो देखाएको पाइन्छ । प्रधानमन्त्रीका विकास समन्वय सल्लाहकार गजेन्द्र थपलियाले दैनिक काम भइरहेका सडक पुगेर अनुगमन गर्दै आएका छन् । मन्त्री नेम्वाङ, सचिव देवेन्द्र कार्की र सडक विभागका महानिर्देशक केशवकुमार शर्मा विभिन्न सडकमा पुगेर अनुगमन गर्दै आएका छन् ।

सडक मर्मत र खाल्डा पुर्ने काम डिभिजनको नियमित काम भए पनि माथिल्लो तहबाट चासो देखाइँदा काममा अझै सहजता हुने प्रमुख नेपालीले बताए । उनले भने, “निर्माणका क्रममा कुनै पनि समस्या आउँदा तत्काल समाधान गर्न सकिन्छ र त्यो तहबाट चासो हुँदा स्रोतको कमी हुँदैन ।”

सडक बोर्ड नेपालले देशभरका सडक मर्मतका लागि बजेट सुनिश्चित गर्दै आएको छ । गत वर्षभन्दा यस वर्ष बोर्डले उपत्यकाको सडक मर्मतका लागि बढी रकम विनियोजन गरेको छ । यस वर्ष काठमाडौंको सडक मर्मतका लागि बोर्डले रु एक अर्ब ५० करोड विनियोजन गरेको छ । डिभिजनको मुख्य जिम्मेवारी सडकको मर्मत भए पनि सडक विभागले नयाँ निर्माणमा समेत काम गर्दै आएको छ ।

चालू आवमा काठमाडौं डिभिजनले झण्डै ५० किमी नयाँ सडक निर्माण गरिरहेको छ । थोरै लम्बाइका सडकका लागि आयोजना कार्यालय स्थापना गर्नुभन्दा डिभिजनमार्फत नै काम भइरहेको छ । निर्माण व्यवसायी पनि सडक मर्मतभन्दा निर्माणमा आकर्षित हुने प्रमुख नेपालीले बताए ।

मर्मतको कामलाई धेरैले झन्झटिलो कामका रूपमा लिने गरेका छन् । कतिपय स्थानमा डिभिजन आफैँले भएका जनशक्ति र उपकरणको प्रयोग गरेर मर्मत गरिरहेको छ भने कतिपय स्थानमा निर्माण व्यवसायीमार्फत काम भइरहेको छ ।

त्यस्तै सार्वजनिक खरिद ऐनले पनि ठाउँठाउँमा खाल्डा पुर्ने काम गराउन कठिन भएको उनले बताए । उनले भने, “रु दुई करोडभन्दा कमको काममा योग्यता नचाहिने हुँदा जोकोहीले पनि ठेक्का पाउने सम्भावना छ ।”

मन्त्री नेम्वाङले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको अवसरमा तीन महिनामा उपत्यकाको नौ हजार ५०० खाल्डाखुल्डी पुरेको बताएका थिए । हिउँदमा कालोपत्र गरिने समय नभए पनि उक्त अवधिमा उपत्यकाको मुख्य क्षेत्रका २७ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले उपत्यकाको ८५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखेको छ । उपत्यकाको कोरिडोरलगायत क्षेत्रको स्तरोन्नति र कालोपत्रको काम पनि अघि बढिरहेको छ ।

प्रतिक्रिया