मूल्य घट्ने डरले पेट्रोल अभाव

admin

काठमाडौं, ४ चैत : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार विभिन्न पम्पहरुको अनुगमन गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य धेरै घट्ने डरले गर्दा पम्पले तेल नल्याउँदा बजारमा अभाव भएको पाइएको छ । विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो पाइएको हो ।

पम्प सञ्चालकले पेट्रोलियम पदार्थको मूल्य १५ रुपैयाँसम्म घट्ने हल्ला चलेको र ठूलो घाटा हुने देखेर निगमको डिपोबाट तेल नउठाएको बताएका छन् ।

सोमबार बेलुका पेट्रोल, डिजल र मट्टीतेलको मूल्य दुई रुपैयाँका दरले मात्रै घटेपछि पम्पवालाले पम्प तेल उठाउन लागेका छन् ।

‘हामीले महाराजगञ्ज, बालुवाटार लगायतका क्षेत्रमा अनुगमन गर्‍यौं, १५ रुपैयाँसम्म मूल्य घट्ने हल्ला चलेकाले आफूहरुले सोमबार र गएको आइतबार पम्प बन्द गरेको सञ्चालकले बताएका छन्’, विभागका सूचना अधिकारी दीपक पोख्रेलले भने, ‘निगमले दुई रुपैयाँ मूल्य घटाएपछि सबै पम्पले तेल बेचिरहेका छन्, बुधबारसम्म अवस्था सहज हुनेछ ।’

बजारमा पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि मंगलबार नेपाल आयल निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले संयुक्त बजार अनुगमन गरिरहेका छन् ।

भारतबाट सामान्य अवस्थामा भन्दा धेरै पेट्रोलियम पदार्थ आइरहेकाले नआत्तिन निगम र विभागले आग्रह गरेका छन् ।

प्रतिक्रिया