मेक्सिकोका राष्ट्रपतिद्वारा एक तिहाई तलब फिर्ता

शर्मिला गुरुङ

मेक्सिको सिटी, ४ पुस (रासस/सिन्ह्वा) : मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता गर्नुभएको छ ।

उहाँले यही डिसेम्बर १ तारिखबाट लागू हुनेगरी राज्यकोषबाट आफूले प्राप्त गर्ने तलबको एक तिहाई फिर्ता गर्न थाल्नुभएको समाचारमा जनाइएको छ । उहाँले अघिल्लो दुई हप्ताको २९ प्रतिशत तलब फिर्ता गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

एक पत्रकार सम्मेलनमा उहाँले अब आफ्नो मासिक तलब पाँच हजार ३७३ डलर पुगेको र त्यसलाई मितव्ययी भई सदुपयोग गर्ने योजना बनाएको जानकारी दिनुभयो ।

“मैले फिर्ता गर्ने भनेको रकम राज्यकोषमा फिर्ता गरिसकेको छु,” लोपेजले पत्रकारहरुसँग भन्नुभयो ।

उहाँले सर्वोच्च अदालतका न्यायाधीशसहित सार्वजनिक सेवामा रहेका अन्य उच्च पदाधिकारीलाई पनि आफ्नो तलब सामाजिक सेवामा लगाउन आह्वान गर्नुभएको छ ।

देशको ठूलो कर्मचारीतन्त्रका विषयमा जनताले प्रश्न उठाएकाले त्यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया