‘मेमोरी कार्ड’को विषयमा झगडा, श्रीमानसहित मिलेर महिलाको हत्या

admin

जनकपुरधाम, माघ २०: मोबाइलको विषयमा झगडा भएपछि धनुषामा परिवारकै सदस्य मिलेर एक महिलाकोे हत्या गरेको खुलासा भएको छ । धनुषाको औरही गाउँपालिका–२ की २२ वर्षीया चिन्तामणि पासवानको उनकै परिवारका सदस्यहरुले हत्या गरेको प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

प्रहरीले हत्या आरोपमा मृतककी ससुरा, सासू, श्रीमान् र नन्दलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीकाअनुसार यही माघ १८ गते मोबाइलको ‘मेमोरी कार्ड’को विषयमा चिन्तामणिको नन्द पुनितासँग विवाद भएको थियो । सोही विषयलाई लिएर श्रीमान् अनिल, ससुरा राधाकृष्ण र सासूले कुटपिट गरी बुहारी चिन्तामणिको घाँटी थिचेर हत्या गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

चिन्तामणिको हत्यापछि झुन्डिएर आत्महत्या गरेको भन्दै परिवार पक्षले हल्ला फैलाएको थियो । तर, प्रादेशिक अस्पताल जनकपुरधाममा ‘पोस्टमार्टम’को क्रममा चिन्तामणिको घाँटी थिचेर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले घटना शंकास्पद देखिएपछि उनका परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया