मोल्दोभा र सेनेगलमा आइतबार मतदान

मनिषा थापा

चिसिनाउ, १० फागुन (रासस/एएफपी) : मोल्दोभामा आइतबार संसदका लागि मतदान हुँदैछ । सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा हुने यस चुनावमा रुस समर्थक र युरोप समर्थकबीच कडा टक्कर हुने अनुमान गरिएको छ ।

सोभियत युनियन सन् १९९१ मा विघटन भएसँगै स्वतन्त्रता प्राप्त गरेको मोल्दोभा रुस र युरोपेली मुलुकको तानातानमा फसेको छ ।

करिब ३५ लाख जनसंख्या रहेको मोल्दोभाका बहुसंख्यक जनता मस्कोसँग घनिष्ट सम्बन्ध बनाउन चाहन्छन्, तर रोमानीयाको मोडेल पछ्याउन उपयुक्त हुने सुझाव पनि धेरैको छ । मोल्दोभाको भाषा र इतिहास दुबै रोमानीयासँग मिल्दोजुल्दो छ । रोमानीया पहिल्यै युरोपेली युनियन (इयू)मा आबद्ध रहेकाले मोल्दोभा पनि इयूमा सामेल हुनुपर्ने धारणा केहीको छ ।

चुनावमा रसिया समर्थित समाजवादी पार्टीका नेता एवं राष्ट्रपति आइगोर डोडोन, सत्तारुढ प्रजातान्त्रिक पार्टी र युरोप समर्थित गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ ।

यो चुनाव नयाँ चुनावी प्रणाली बमोजिम हुँदैछ । १०१ सदस्यीय संसदमा पार्टीको सूची र चुनावी क्षेत्रबाट सांसदहरु चुनिनेछन् ।

चुनावी मतसर्वेक्षणमा डोडोनको रुस समर्थित दल अगाडि रहेको देखिएको छ । डोडोनले मोल्दोभालाई रुसको अगुवाईमा निर्माण गरिएको युरेसियाली आर्थिक यूनियनमा आबद्ध गराउन चाहनु भएको छ ।

सेनेगलमा राष्ट्रपतीय चुनाव

डाकारः सेनेगलमा आइतबार राष्ट्रपतिका लागि पहिलो चरणको चुनाव हुँदैछ । वर्तमान राष्ट्रपति म्याकी साल पनि चुनावी मैदानमा हुनुहुन्छ ।

उहाँका प्रतिस्पर्धीका रुपमा डाकार नगरका लोकप्रिय पूर्व मेयर खलिफा साल र पूर्व राष्ट्रपतिका छोरा करिम वाडे रहेकामा दुबैको उम्मेदवारी रद्द भएको छ । उहाँहरुमाथि भ्रष्टाचारको आरोपमा अदालतबाट दोषी ठहर गरिएको छ ।

“पहिलो चरणमा विजयी हुनेमा द्विविधा नै छैन,” म्याकी सालले डाकारमा आयोजित अन्तिम चुनावी सभामा सम्बोधन गर्दै भन्नुभयो । चुनावी प्रतिस्पर्धामा राष्ट्रपति साल विरुद्ध चार जना विपक्षी नेताहरुले चुनौती दिँदैछन्, तर उनीहरु त्यति लोकप्रिय छैनन् ।

प्रतिक्रिया