म्यानमारमा अासियन सिओसिआई बैठक आयोजना हुने

रिता घिसिंग

याङ्गुन, २३ असोज : म्यान्मारले दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन आसियनको संस्कृति तथा सूचनासम्बन्धी समिति सीओसिआइको ५३ औँ बैठक आयोजना गर्ने भएको छ ।

आसियनको उक्त समितिको बैठक म्यान्मारको राजधानी नेपितवमा आगामी नोभेम्बर १२ देखि १६ सम्म आयोजना गर्ने तयारी भएको म्यान्मारले जानकारी दिएको छ ।

यो बैठकको आयोजनाबाट दक्षिणपूर्वी एसियाली देशहरुमा सूचना प्रविधिका आयोजनाहरुमा थप लगानीका साथै अरु विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा सहयोग पुग्ने अपेक्षा गरिएको पनि म्यान्मारले जानकारी दिएको छ । आसियनको उक्त समितिको बैठक तीन दिनसम्म सञ्चालन हुने र त्यसपछि घोषणापत्र जारी गरिने म्यान्मारको समाचार समितिले मङ्गलबार जानकारी दिएको छ ।

यस समितिको बैठकबाट दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सांस्कृतिक र कलाका क्षेत्रमा भए गरेका कार्यहरुको समीक्षा हुनुका साथै यसले आगामी दिनमा सांस्कृतिक सम्बन्धको विकासमा सहयोग पु¥याउने म्यान्मारले जनाएको छ ।

यसका साथै उक्त बैठकले एसियाली नागरिकहरुको बीचमा पारस्परिक समझदारी र एकताको अभिवृद्धि गर्ने अपेक्षा गरिएको पनि बताइएको छ ।

म्यान्मारको धार्मिकमामिला र सांस्कृतिसम्बन्धी मन्त्री थुरा यु आङ्को अध्यक्षतामा सोमबार आसियान सिओसिआई समन्वय समितिको बैठक आयोजना गरिएको थियो ।

यसअघि पनि म्यान्मारले यस समितिको बैठक आयोजना गरेको थियो । सन् २००० मा याङ्गुनमा ४३ औँ र सन् २००८ मा नेपितवमा एसियनको सिआसिआईको बैठक बसिसकेको छ ।
–रासस

प्रतिक्रिया