म्यानमार नरसंहारको विरोधमा नेपालका नागरिक अगुवाहरूद्वारा प्रदर्शन (फोटोफिचर)

admin

ललितपुर, २१ फागुन : म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरूले प्रदर्शन गरेका छन् । म्यानमारमा भएको नरसंहारको विरोधमा शुक्रबार नागरिक अगुवाहरूले ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ लेखिएको ब्यानरमा ललितपुरमा रहेको म्यानमारको दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका नागरिकको साथमा छौँ, म्यानमार नरसंहारबारे अन्तर्राष्ट्रिय समुदाय बोल, म्यानमार सरकार नागरिक ह’त्या बन्द गरु लगायत लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए भने आ-आफ्नो तीन वटा औँला देखाएर प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनमा नागरिक अगुवाहरू खगेन्द्र सङ्ग्रौला, डाक्टर गोविन्द केसी, नारायण वाग्ले, युग पाठक लगायतको सहभागिता रहेको थियो । प्रदर्शनलाई सम्बोधन गर्दै नागरिक अगुवा खगेन्द्र सङ्ग्रौलाले स्वतन्त्रताप्रेमी, लोकतन्त्र र स्वायत्तताप्रेमी नागरिकहरू म्यानमारका नागरिकलाई एक्यबद्धता जनाउन सडकमा आएको बताए ।

अहिलेको समय लोकतन्त्र, नागरिक स्वतन्त्रता र मुक्तिको समय भन्दै सङ्ग्रौलाले म्यानमारका नागरिकले जित्ने पनि बताए । विरोध प्रदर्शनमा म्यानमारको सैनिक दमनलाई साङ्केतिक रूपमा देखाउन कलाकारहरूले प्रस्तुति पनि देखाएका थिए । म्यानमारमा फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि त्यसको विरोधमा निरन्तर आन्दोलन हुँदै आएको छ । सङ्घर्षका क्रममा कैयौँ नागरिकले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया